प्रदेश राजधानी सार्न नेता लबिङमा, अब चौकीडाँडा की डडेल्धुरा ?

धनगढी, तत्कालीन नेकपा सरकारको पालामा १२ असोज २०७५ मा प्रदेश सभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने तेघरी क्षेत्रमा बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने विषयलाई यतिबेला वहसमा ल्याएका छन भने यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले राजधानी गोदावरी नगरपालिकाकै चौकीडाँडामा बनाउन लबिङको नेतृत्व नै थालेका थिए। प्रदेश सभाले पारित गरेको राजधानी भीमदत्त राजमार्गको छेउमा पर्छ भने बलायरले नयाँ प्रस्ताव गरिएको क्षेत्र अत्तरिया बजारदेखि एक किलोमिटर पश्चिम (पूर्व–पश्चिम राजमार्गको छेउमा) पर्छ।

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सांसद रहेका बलायरले चौकीडाँडामा ६५ बिघा जग्गा रहेको र त्यहाँ रूख पनि काट्न नपर्ने भएकाले राजधानी त्यहीँ सार्न प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रिपोर्ट दिइएको बताएका थिए। ‘६ वटा प्रदेशको राजधानी बनिसक्यो।

हाम्रो सुदूरपश्चिमको गोदावरीमा बनेन। अब चौकीडाँडामा संसद् भवन मात्रै भए पनि बनाइयोस् र केन्द्रले चाँडै डिपिआर गरिदेओस्,’ सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्षको बजेटको पुर्वसन्ध्यामा यसअघि संघीय सांसदको रायसुझाव लिन काठमाडौंमा आयोजित कार्यक्रममा बलायरले भनेका थिए।

‘तेघरी राजधानीका लागि उपयुक्त छैन, त्यहाँ रूख काट्नुपर्ने हुन्छ भने भावर क्षेत्र हो,’ उनले भने, ‘चौकीडाँडामा खोलानजिकको जग्गा हो, त्यहाँ सामुदायिक वन भए पनि खासै रूख छैनन्, हैसियत बिग्रिएको जंगल हो।’ बलायरले आफु कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए निर्वाचित भएको ६ महिनाभित्रै गोदावरीमै राजधानी निर्माण गरेर देखाउने भन्दै मतदाता समक्ष भोट मागेका थिए।

हाल सुदूरपश्चिम प्रदेश सरकारको अस्थायी मुकाम धनगढीमा छ। ‘धनगढी भारतीय सीमासँग जोडिएकाले राजधानी कति उचित कति अनुचित?’ बलायरले भने। तर, एमालेबाट प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले भने प्रदेश राजधानी विशुद्ध प्रदेश सभाको विषय रहेकाले कुनै व्यक्तिले भन्दैमा नहुने बताए।

‘कसले कहाँ राजधानी भनेर हुँदैन, प्रदेश सभाको दुईतिहाइबाट पारित भएर तेघरी भनिएको हो,’ उनले भने, ‘यदि प्रदेश सभालाई उपयुक्त छैन भन्ने लागेमा निर्णय गर्ला, तर हामी संघीय सांसदले भन्नुपर्ने कारण छैन।’ यसअघि सुदूरपश्चिम सरकारले तेघरीमा राजधानीका लागि प्रदेशसभाले तोकेको चार किल्लाभित्रको ३० लाख सात हजार दुई सय ३७ वर्गमिटर जग्गाको स्वामित्व दिन संघ सरकारसँग माग गरे पनि कुनै निर्णय भएको छैन।

पहिलो प्रदेशसभाको दुईतिहाइ बहुमतबाट गोदावरीमा प्रदेश राजधानी बनाउने निर्णय गरेको ५ वर्षपछि सुदूरपश्चिम प्रदेशको राजधानी नयाँ ठाउँमा सार्ने विषयमा बहस सुरु भएको छ। तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले २०७९ वैशाख २७ गते डडेलधुरामा चुनावी सभालाई सम्वोधन गर्दै प्रदेश राजधानी डडेलधुरामा सार्न सकिने बताएको डेढ वर्षपछि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले डडेलधुरा पुगेर प्रदेश राजधानी सार्न सकिने अभिव्यक्ति दिएका छन्।

गत बुधबार मुख्यमन्त्री शाहले डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ तेघरी क्षेत्रमा वनको विवादका कारण संरचना बनाउन नसकिएकाले राजधानी सार्न सकिने बताए। मुख्यमन्त्री शाहले आवश्यकता भए प्रदेश राजधानी र नामसमेत परिवर्तन गर्न सकिने बताएका थिए। मुख्यमन्त्री शाहले यस विषयले प्रदेशसभाभित्र प्रवेश नपाए पनि आवश्यकता अनुसार राजधानीका विषयमा छलफल सुरु हुनसक्ने बताएका छन्।

उनले राजधानी कहाँ सार्ने भन्ने विषयमा भने केही बताएनन्। कांग्रेस सभापति देउवाकै गृहजिल्ला पुगेर मुख्यमन्त्री शाहले राजधानी सार्ने अभिव्यक्ति दिएपछि प्रदेश राजधानी सार्ने गृहकार्य सुरु भएको बताइन्छ। कांग्रेस सभापति देउवाको गृहजिल्लाबाट आगामी निर्वाचनमा उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा निर्वाचन लड्ने तयारी स्वरुप प्रदेश राजधानी डडेलधुरा सार्ने गृहकार्य भइरहेको बुझिएको छ। गत निर्वाचनमा डडेलधुरामा प्रदेश राजधानी प्रमुख चुनावी मुद्दा बनेको थियो।

तत्कालीन प्रधानमन्त्री देउवाले भनेका थिए, ‘कांग्रेसलाई जिताउनुहोस् राजधानी डडेलधुरा सार्ने कुरा धेरै ठूलो विषय होइन।’ प्रदेशसभामा गठबन्धन दलहरुसँग दुईतिहाइ बहुमत पनि छ। सत्ता पक्षको अर्को ठूलो दल माओवादीका संसदीय दलका नेता पनि डडेलधुराबाटै निर्वाचित खगराज भट्ट छन्। राजधानी डडेलधुरा सार्ने विषयमा माओवादी पनि सकारात्मक हुनसक्छ। अघिल्लो प्रदेशसभाले २०७५ असोज १२ गते प्रदेश राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ तेघरीमा निर्माण गर्ने निर्णय गरेको थियो।

 

ताजा समाचार