डडेल्धुरा पुगेर भने गोदावरीमा प्रदेश राजधानी भएन भने अन्य ठाउँमा पनि राजधानीको निर्णय गरेर अगाडि बढ्छौ : मुख्यमन्त्री शाह

डडेल्धुरा , सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानीको बारेमा नयाँ खुलासा गरेका छन ।  गोदावरीमा हुने वा नहुनेबारे छिट्टै टुंगोमा पुग्ने उनको तर्क छ ।  नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले बुधबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेशको राजधानी गोदावरी हुने वा नहुनेबारे गठबन्धनका दलहरूबीचमा आफूले छलफल थालिसकेको जिकिर गरे ।  ‘मैले गठबन्धनका दलहरूबीचमा छलफल सुरु गरिसकेको छु ।  गोदावरीमा राजधानी बनाउने दुई तिहाइको निर्णय पनि हो। विभिन्न कारणले त्यहाँ राजधानी बनाउने काम अघि बढ्न सकेको छैन,’ मुख्यमन्त्री शाहले भने, ‘अब हामी वन मन्त्रालयदेखि सरोकारवाला मन्त्रालयलसँग अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा अगाडि बढ्छौँ।’

उनले गोदावरीमा राजधानी बनाउने नसकिने अवस्था आए त्यसको विकल्प खोजिने पनि बताए।

‘राजधानीको विषयमा छिटोभन्दा छिटो हामी टुंग्याउने पक्षमा छौँ। एकपटक संघीय सरकारसँग यहाँको सबै यर्थाथ परिस्थितिबारेमा जानकारी गराउँछौँ। संघीय सरकार र सरोकारवाल मन्त्रालयले अनुमति दिए गोदावरीमै राजधानीको काम सुरु हुन्छ,’ मुख्यमन्त्री शाहले भने, ‘यदि गोदावरीमा भएन भने हामी विकल्पको रूपमा अन्य ठाउँमा पनि राजधानीको निर्णय गरेर अगाडि बढ्छौँ।’

तत्कालीन नेकपा सरकारको पालामा १२ असोज ०७५ मा प्रदेशसभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ मा पर्ने  तेघरीमा बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेको छैन।

मुख्यमन्त्री शाहले तत्काल सुदूरपश्चिम प्रदेशको नाम परिवर्तन भइहाल्ने अवस्था नरहेको बताए। यदि आवश्यकता महसुस भएको खण्डमा प्रदेशको नामका विषयमा पनि छलफल चलाउन सकिने उनको भनाइ थियो।

 

ताजा समाचार