भारतले धौलीगंगा बाँधको ढोका खोल्दै,महाकाली किनारका बासिन्दालाई सर्तक रहन आग्रह

अत्तरिया , भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

उत्तराखण्डमा रहेको उक्त जलविद्युत परियोजनाको सिल्ट फ्लसिङ र सरसफाइका लागि भाद्र १८ गते बिहान देखि १९ गते बिहानसम्म ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बाँधका ढोका खुल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले आग्रह गरेको छ ।

यसअघि सिफ्ट फ्लशिंगको कार्य गरिने भन्दै असार २६ गते पहिलो पटक बाँधका ढोका खोलेको थियो भने पुनः साउन ६ गते दोस्रो र साउन ३१ गते तेस्रो पटक बाँधका ढोका खोलेको थियो ।

पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सूचना गराउन थालेपछि पूर्व सतर्कता अपनाउन सजिलो भएको छ । सोही अनुसार नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई बाध खोलिने बारे जानकारी गर्दै आइरहेको छ । नेपालतर्फ मात्रै नभई नदी किनारका भारतीय बस्ती समेत उच्च जोखिममा रहेकाले भारतीय पक्षले बाधको पानी बिस्तारै छोड्ने गरेको छ ।

Image_0171693634764.jpg

 

ताजा समाचार