गोदावरी नगरपालिका “पूर्ण खोप सुनिश्चितता पालिका” घोषणा

अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिकालाई “पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना पालिका” घोषणा गरिएको छ। बुधबार नगर खोप समन्वय समितिको आयोजनामा नगरपालिका सभाहलमा सम्पन्न कार्यक्रममा उक्त घोषणा गरिएको हो।

नगरप्रमुख विरेन्द्र भट्टले खोप कार्यक्रमको सफलताको औपचारिक घोषणा गर्दै भने, “खोप पाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार हो भने, खोप दिलाउनु हामी सबैको कर्तव्य र जिम्मेवारी हो।” उनले नेपाल सरकारको राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि १५ महिना उमेर समूहका सम्पूर्ण बालबालिकालाई गुणस्तरीय खोप सेवा प्रदान गरी गोदावरी नगरपालिकाले पूर्ण खोप पालिकाको मान्यता प्राप्त गरेको जानकारी दिए।

उनले थपे, “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामार्फत आगामी वर्षहरूमा पनि पूर्ण खोप पालिका सुनिश्चितता र दिगोपनाको अभियानलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता हो।” साथै, खोप अभियान सफल बनाउन दिनरात खटिएका स्वास्थ्यकर्मीप्रति उनले आभार व्यक्त गरे।

कार्यक्रममा उपप्रमुख शारदा देवी रोकायाले खोप अभियानका कारण शिशु मृत्यु दरमा कमी आएको बताउँदै भनिन्, “हाम्रो नगरमा स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले उत्कृष्ट नतिजा देखिएको छ। स्वास्थ्यलाई जीवनको पहिलो प्राथमिकता मानेर अझ प्रभावकारी रूपमा काम गर्दै जाने छौं।”

स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले नगरपालिकाभित्र १८ वटा स्वास्थ्य संस्था र ३२ वटा खोप केन्द्रमार्फत १५ प्रकारका रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार वडा नं. १ देखि १२ सम्मका ०–२३ महिनासम्मका ३,५०९ बालबालिकामध्ये १,७९१ जना एक वर्षमुनिका बालबालिकाले पूर्ण खोप सेवा प्राप्त गरेका थिए। समग्र खोप सफलताको दर ९३ प्रतिशत पुगेको बताइएको छ।

कार्यक्रमको विशेष आकर्षण स्वरूप, खोप अभियानमा उल्लेखनीय योगदान पुर्‍याउने १८ स्वास्थ्य संस्थाका ३६ जना स्वास्थ्यकर्मीलाई नगरप्रमुख भट्टले दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरी सम्मानित गरेका थिए। ती स्वास्थ्यकर्मीहरूले खोप केन्द्रमा मात्र होइन, घरदैलोमै गई सेवा पु¥याउँदै खोप सुनिश्चितता कायम गरेका थिए।

 

ताजा समाचार