दलित महिला सशक्तिकरण तालिम सम्पन्न : पाँच दिनसम्म अधिकार,कानुनी चेतना र नेतृत्व क्षमतामा केन्द्रित प्रशिक्षण

गोदावरी, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ मा पाँचदिने दलित महिला सशक्तिकरण तालिम भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक रूपान्तरण, कानुनी चेतना र महिला सशक्तिकरणको उद्देश्यसहित आयोजित तालिममा वडा नम्बर ६ का विभिन्न टोलबाट आएका दलित महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिममा सहभागिहरूलाई समकालीन सामाजिक संरचना, छुवाछुतको इतिहास र वर्तमान अवस्था, संविधानमा स्थापित अधिकारहरू, कानुनी व्यवस्था, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक सहभागिता र नेतृत्व क्षमताको विकासमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षकहरूद्वारा अन्तरक्रिया, समूह अभ्यास, व्यवहारिक प्रस्तुतीकरण र केस स्टडीहरूको माध्यमबाट सहभागीहरूलाई व्यवहारमै सिकाउने विधिबाट तालिम सञ्चालन गरिएको थियो।

तालिममा दलित महिलाहरूबीच अझै केही क्षेत्रमा कायम रहेको विभेदका स्वरूपबारे छलफल गरिँदा धेरैले अहिलेको पुस्तामा छुवाछुत जस्ता परम्परागत विभेदहरू न÷हेका अनुभव सुनाएका थिए। सहभागीहरूको भनाइमा कानुनी अधिकारबारे अझ गहिरो ज्ञान आवश्यक रहेको कुरा पनि खुलस्त भएको थियो।

प्रशिक्षकहरूले नेपालको संविधान २०७२ मा दलित समुदायसहित सबै नागरिकका अधिकारको सुनिश्चितता गरिएको उल्लेख गर्दै कुनै पनि जात वा वर्गका नाममा गरिने भेदभाव गैरकानुनी हुने, यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाही हुने कानुनी प्रावधानबारे विस्तृत जानकारी दिएका थिए। त्यसैगरी, दलित समुदायका महिलाहरूले समाजका हरेक तहमा सहभागिता जनाउनुपर्ने, न्याय प्राप्तिको लागि कहाँ जाने, कसरी कानुनी प्रक्रिया अघि बढाउने भन्ने विषयमा पनि प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको समापन सत्र टाइगर न्युजका सञ्चालक समिति सदस्य प्रकाश बोहराको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ६ का कार्यवाहक अध्यक्ष जहरी साउद प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्रमुख अतिथि साउदले समाजमा अझै कतिपय तहमा बाँकी रहेका विभेद र छुवाछुत अन्त्य गर्न मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिँदै भने, “हामी सबै मानव हौं, कोही माथिल्लो, कोही तल्लो भन्ने सोच अब अन्त्य हुनुपर्छ। आत्मगौरवको भावना लिएर अघि बढ्नुपर्ने समय आएको छ।”

कार्यक्रममा अन्य सामाजिक अगुवाहरू, स्थानीय नेतागण तथा प्रशिक्षकहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी दलित महिलाहरूले तालिमबाट आफूहरूमा आत्मविश्वास र सामाजिक उत्तरदायित्वको भावना थप मजबुत भएको प्रतिक्रिया दिएका थिए।

तालिम समापनको अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै आयोजक पक्षले आगामी दिनमा यस्ता तालिमहरू अन्य वडामा पनि विस्तार गर्ने प्रतिबद्धता जनाएको थियो। कार्यक्रमले दलित महिलाहरूको चेतनास्तर वृद्धि र सामाजिक रुपान्तरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

 

 

ताजा समाचार