अत्तरिया, कैलालीकाे अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६औं वार्षिक साधारण सभा शनिबार अत्तरियामा विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यवाहक अध्यक्ष शेरबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न उक्त सभामा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथिका रूपमा सहभागी थिए।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन, लेखा विवरण, लेखा परीक्षण तथा आगामी वर्षको बजेट र कार्यक्रम सार्वजनिक गरियो। अध्यक्ष बिष्टले शुद्ध र भरपर्दो खानेपानी आपूर्तिका लागि संस्था प्रतिबद्ध रहेको बताए।
नगरप्रमुख भट्टले जलवायु परिवर्तनले पानीका मुहान सुक्दै गएका र आर्टिजन बोरिङले भूगर्भीय पानीको सतह घटिरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै खडेरीको सम्भावित जोखिमबारे वैकल्पिक मार्ग र वैकल्पिक स्रोतको खोजी गरेर अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले नयाँ योजना निर्माणका लागि स्रोत पहिचान र करिब २० लाख लागतको डिपिआर बनाउन नगरपालिकाले पूर्ण साथ दिने बताएका छन्।
“खानेपानीलाई दिगो बनाउन स्थानीय सरकार सधैं सकारात्मक छ,” भट्टले भने, “समन्वयमा आधारित योजना ल्याइयो भने नगरको पूर्ण सहयोग रहनेछ, नगरले भने।”
फरक प्रसंगमा नगरप्रमुख भट्टले समन्वयबिना गरिएको प्लटिङका कारण खानेपानी पाइपमा क्षति पुगेको उल्लेख गर्दै यसपटकको नीति तथा कार्यक्रममा यस्ता अनधिकृत बाटोघाटोलाई मान्यता नदिने बताए।
सभामा नगरका विभिन्न वडाध्यक्ष, संघसंस्थाका प्रतिनिधि, उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रम सफल बनाउन उपभोक्ता समितिका सदस्यहरूको सक्रिय भूमिका रहेकाे थियोे ।