सुदूरपश्चिमलाई समृद्ध बनाउने अभियानमा एकजुट हुनुपर्ने बेला आएको छ : एमाले सचिव भट्ट

अत्तरिया,  नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशलाई समृद्ध र विकसित बनाउने साझा अभियानमा सबै पक्षको संयुक्त सहभागिता आवश्यक रहेको बताएका छन्।

शुक्रबार अत्तरियामा आयोजित ‘सूर्य युग’ मुखपत्रको विमोचन समारोहमा बोल्दै सचिव भट्टले सुदूरपश्चिम प्रदेशलाई स्रोत र सम्भावनाको भरपूर उपयोग गर्दै मुलुककै नमूना प्रदेश बनाउने लक्ष्य रहेको स्पष्ट पारे।

“हाम्रो लक्ष्य सुदूरपश्चिमलाई सबैभन्दा समृद्ध र विकसित प्रदेश बनाउनु हो। त्यो लक्ष्य हासिल गर्न सबैले साझा प्रयास गर्नुपर्छ,” भट्टले जोड दिए।

उनले पार्टीभित्र देखिएको देखावटी एकतालाई लक्षित गर्दै आन्तरिक गुटबन्दी अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए। “अब पार्टीको संगठनात्मक एकता र वैचारिक रुपान्तरणलाई प्राथमिकता दिनुपर्छ,” उनले भने। साथै, आगामी निर्वाचनमा पार्टीलाई थप मजबुत बनाउन कार्यकर्ताबीच एकता र समर्पण अपरिहार्य रहेको उल्लेख गरे।

विमोचन कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा अछाम इञ्चार्ज झपट बोहराले मुखपत्रले पार्टीको आन्तरिक जीवनमा विचार र गतिविधिको संवाहकको भूमिका खेल्ने बताए। “सूर्य युग जनतालाई राजनीतिक चेतना र विकासको जानकारी दिने माध्यम बन्नेछ,” उनले भने, “यो सबै जिल्लामा पुग्नुपर्छ।”

प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले ‘सूर्य युग’ को प्रारम्भिक संस्करण सकारात्मक भएको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरे।

पार्टी सचिव रणबहादुर चन्दले मुखपत्र प्रकाशनको उद्देश्य पार्टी गतिविधि जनसमक्ष पुर्‍याउनु रहेको स्पष्ट पारे। “पार्टीको आवाजलाई संगठित ढंगले जनतामा पुर्‍याउन हामीले यो सुरुवात गरेका हौं,” चन्दले भने, “यसलाई नियमितता दिइनेछ।”

प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले विभाग गठनसँगै नीति, योजना र विचारलाई कार्यकर्ता तथा आम पाठकसमक्ष पुर्‍याउने उद्देश्यले मुखपत्र प्रकाशन गरिएको जानकारी दिइन्। उनले निकट भविष्यमा अनलाइन पोर्टल र युट्युब च्यानल सञ्चालनको योजना पनि अघि सारिन्।

प्रदेश कमिटी सदस्य तथा विभाग उपप्रमुख मतृका प्रसाद तिमिल्सेनाले ‘सूर्य युग’ लामो तयारीपछि सुरु गरिएको बताए। उनले यस मुखपत्रले पार्टीको सिद्धान्त, नीति र कार्यक्रम आम जनतासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “आगामी दिनमा हामी यसलाई अझ परिस्कृत र प्रभावकारी बनाउँदै लैजानेछौं,” तिमिल्सेनाले भने।

कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्ला, स्थानीय तह र पार्टी कमिटीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मुखपत्रको प्रकाशनले एमाले सुदूरपश्चिमको सांगठानिक सशक्तीकरणमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

 

ताजा समाचार