बिहान ४ बजे उठेर चिया पसलसम्म दूध पुर्‍याउने संघर्षको नाम हाे पदम मडै

अत्तरिया, दसकौंको लामो मेहनत, एउटा साइकल र इमानदार पौरख। यो कथा हो पदमबहादुर मडैको, जो अहिले गोदावरी नगरपालिका – १० मा बसोबास गर्दै आएका छन्। मूलतः जोरायल गाउँपालिका निवासी मडै करिब २०२७ सालअघि अत्तरियामा बसाइँ सरेका थिए। त्यसपछि सुरु भएको उनको दुध व्यापारको संघर्षपूर्ण यात्रा आज पनि उस्तै निरन्तरताका साथ चलिरहेको छ।

मडैको दिनको सुरु बिहान ४ बजे हुन्छ। गाउँका विभिन्न टोलहरूबाट दुध सङ्कलन गरेर, २२ इन्चको पुरानो साइकलमा ट्रम बाँधेर, झन्डै १० किलोमिटर टाढा अत्तरियासम्मको यात्रा गर्छन्। ६०-७० लिटर दुध लिएर अत्तरियाका चिया पसलदेखि स्थानीय ग्राहकहरूसम्म वितरण गर्ने उनको दिनचर्या २५ वर्षदेखि फेरिएको छैन।

“सडक ग्राभिल र कालोपत्रे नभएको बेला निकै गाह्रो हुन्थ्यो, तर अहिले थोरै सहज भएको छ,” मडै सम्झिन्छन्। उनका अनुसार पहिलेका दिनमा बाटो साँघुरो, बर्खा याममा बाटो सडक चिप्लो र अप्ठ्यारो थियो। साइकल चलाउनै मुस्किल हुने अवस्था थियो। तर यिनै कठिनाइहरू पार गर्दै उनले आफ्ना नियमित ग्राहकलाई कहिल्यै धोका दिएनन्।

अहिले उनी ६१ वर्षका भएका छन्। उमेरले थकाइ लागे पनि उनले अझै हिम्मत हारेका छैनन्। उनी भन्छन्, “शरीरले साथ दिएसम्म यही पेशा निरन्तर गरिरहन्छु।”

साइकलमै व्यापार, तर सेवा आधुनिक भन्दा कम छैन,आधुनिक युगमा, जहाँ आधुनिक सवारी साधन सजिलै पाइन्छन्, त्यहाँ मडैको पुरानो साइकलमै गरिएको सेवा अनौठो लाग्न सक्छ। तर अत्तरियाका ग्राहकहरूका लागि मडैको दुध समयमै, उचित भरपर्दो गुणस्तरसहितकाे दुध आइपुग्ने गर्छ। चिया पसलका अधिकांश सञ्चालक मडैकै दुध प्रयोग गर्छन्।

“कहिलेकाहीँ ग्राहकहरू दुध पानीमिश्रितजस्तो लाग्यो भन्छन्, तर मैले सधैं सक्दो शुद्धता राख्ने गरेको छु,” मडैको स्पष्ट भनाइ छ। उनको सादगी स्वभाव, कम बोल्ने बानी र इमानदार व्यापारिक आचरणले उनीप्रति सबैको विश्वास कायम छ।

घर खर्चदेखि सम्पूर्ण जीवन व्यापारमै खर्चिएको
दुध बेचेरै उनले आफ्नो सम्पूर्ण घर खर्च, बालबच्चाको लालनपालन, शिक्षादीक्षा र सबै आवश्यकताहरू पूरा गर्दै आएका छन्। कुनै अन्य पेशा नअपनाई, न नौकरी नगरी, न बाहिरी देश हानिएर – उनी यही स्वदेशको माटोमा, यही पेशामै समर्पित छन्।

तर दुःखको कुरा, यो लामो समर्पणको यात्रामा उनले सरकार वा स्थानीय निकायबाट कुनै किसिमको आर्थिक सहयोग वा प्रोत्साहन पाएका छैनन्। “रेडियो र पत्रपत्रिकामा अरुले अनुदान पाएको कुरा पढ्छु, तर म कहाँ जाने? कसरी पाउने? केही थाहा छैन,” मडै गुनासो गर्छन्।

उनका अनुसार धेरैले बाख्रापालन, गाईपालन, दुध उद्योगको नाममा सहायता लिएको देखिए पनि आफूजस्ता वास्तविक श्रमिक र कामदारलाई सहयोग पुग्न नसकेको अवस्था छ। “सहयोग कसरी पाइन्छ, कोसँग सम्पर्क गर्नुपर्छ, त्यो जानकारी नै छैन,” मडै भन्छन्।

प्रेरणादायी संघर्षको जीवित उदाहरण
पदम मडैको जीवन, खासगरी आजका युवा पुस्ताहरूका लागि पनि एक प्रेरणादायी पाठ हो। जब थुप्रै व्यक्ति सहजरूपमा काम पाउन नसकेको गुनासो गर्छन्, मडैको जस्तो सादा तर संघर्षशील जीवनले भन्छ – कुनै पनि काम सानो हुँदैन।

उनले मोटरसाइकल वा ट्याक्सीमा दूध वितरण गर्दैनन् । तर उनले इमानदारी र निरन्तर प्रयासबाट ग्राहकको मन जित्न सफल भएका छन्।

स्थानीय तहका लागि मडैको यो संघर्ष, एउटा उदाहरण मात्र होइन, एउटा चुनौती पनि हो। आफ्नै गाउँ समाजमा यस्ता पात्रहरूलाई चिन्नु, सम्मान गर्नु र सम्भव भएसम्म सहयोग गर्नु – स्थानीय सरकार र वडा कार्यालयको पनि कर्तव्य बन्नुपर्छ।

पदम मडै जस्ता मौन कर्मयोगीहरूकै कारण समाजमा अझै पनि परिश्रमको मूल्य बाँकी छ। यो कथा मात्र होइन, एउटा जिउँदो प्रेरणा हो । जुन हाम्रा शहर बजारदेखि सरकारसम्मले पनि बुझ्न आवश्यक छ।

 

ताजा समाचार