गाेदावरी नगरवासीको टाउको कहिल्यै निउरिने काम गर्दिन : नगर-प्रमुख भट्ट

अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले स्थानीय विकासका मुख्य आधारहरू पहिचान गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पारदर्शितालाई नगरको प्रमुख प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन्।

नगर प्रमुख भट्टले गोदावरी नगरपालिका वडा नं. ६ मा आयोजित नवौं वडा भेलामा बोल्दै भने, “स्थानीय जनताको सुझावलाई हामीले जिम्मेवारीका रूपमा बुझेका छौं। बजेटको अभाव भए पनि शिक्षा र पूर्वाधारमा निरन्तर लगानी जारी राखिएको छ।”

उनका अनुसार संघीय र प्रदेश सरकारसँग समन्वय गर्दै नगरपालिकाले आन्तरिक स्रोतहरूको अधिकतम उपयोगमार्फत योजनाहरू कार्यान्वयन गरिरहेको छ। “गत आर्थिक वर्षमा मन्त्रालयबाट ४७ करोडको प्रतिबद्धता भएकोमा ३८ करोड मात्रै प्राप्त भयो। तर उपलब्ध रकमलाई योजनाबद्ध रूपमा सदुपयोग गरिएको छ,” उनले जानकारी दिए।

‘एक वडा, एक नमूना विद्यालय’मार्फत शिक्षा रूपान्तरण

नगर प्रमुख भट्टले शैक्षिक रूपान्तरणका लागि ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सुरु गरिएको बताए। “शिक्षा नै विकासको मेरुदण्ड हो भन्ने हाम्रो दृढ विश्वास हो,” उनले जोड दिए।

स्वास्थ्य, खानेपानी, विद्युत्, तारबार निर्माण, सहरी स्वास्थ्य केन्द्र र गौशाला जस्ता योजनाहरू कार्यान्वयनको चरणमा रहेको भनी जानकारी दिँदै भट्टले व्यवस्थापनमा देखिएका कमजोरीहरू क्रमशः सुधार गरिँदै जाने बताए। “जसरी सडक, बत्ती, पानी, शिक्षा र स्वास्थ्य जनजीविकासँग जोडिएका विषय हुन्, त्यसरी नै यी सबैलाई समान रूपमा सम्बोधन गरिँदै छ,” उनले भने।

“धनगढी झिलिमिली, गोदावरी अँध्यारो? अब होइन”

हालै सामाजिक सञ्जालमा धनगढी नगरको उज्यालो र गोदावरी नगरको अँध्यारोपनको तुलना गरिएको विषयमा प्रतिक्रिया दिँदै नगर प्रमुख भट्टले असार महिनाभित्र सीमाक्षेत्रमा सडक बत्ती बल्ने योजना रहेको जानकारी दिए। “सीमित स्रोतसाधनका बाबजुद गाउँबस्तीमा समेत सडक बत्ती विस्तार भइरहेका छन्,” उनले स्पष्ट पारे।

‘एक वडा, एक खेलमैदान’ : युवा क्लबसँग सहकार्य

खेलकुद क्षेत्रमा पनि नगरले ध्यान दिएको नगर प्रमुख भट्टले उल्लेख गरे। ‘एक वडा, एक खेलमैदान’ अभियानअन्तर्गत युवा क्लबहरूसँग समन्वय गरी प्राथमिक क्षेत्रको पहिचान भई निर्माण कार्य अघि बढाइने उनले जानकारी दिए। “सबै क्लबलाई छुट्टाछुट्टै बजेट दिन सकिँदैन, त्यसैले समन्वित रूपमा खेलमैदान विकासमा ध्यान दिइनेछ,” भट्टले बताए।

जनप्रतिनिधिको गम्भीरता र प्रतिबद्धता

कार्यक्रमको समापनतर्फ नगर प्रमुख भट्टले जनप्रतिनिधिको भूमिका र उत्तरदायित्वप्रति गम्भीर प्रतिबद्धता व्यक्त गर्दै भने, “जनप्रतिनिधिले सबै कुरा गर्न सक्दैन। तर पारदर्शिता, समन्वय र जनउत्तरदायिता कायम राख्दै काम गर्न सकिन्छ। म नगरवासीको टाउको कहिल्यै निउरिने काम गर्दिन।”

उनका यी भनाइले कार्यक्रममा उपस्थित स्थानीय नागरिक र जनप्रतिनिधिहरूको उत्साह बढाएको देखिन्थ्यो। भेलामा अन्य स्थानीय योजनाहरू, बजेटका प्राथमिकता र विकासका भावी खाका पनि प्रस्तुत गरिएको थियो।

यसरी, गोदावरी नगरपालिकाले सीमित स्रोतसाधनका बाबजुद शिक्षादेखि पूर्वाधारसम्मका क्षेत्रमा देखाएको सक्रियता नगर विकासप्रतिको प्रतिबद्धताको प्रतिविम्ब हो।

 

ताजा समाचार