गाई माता संरक्षणदेखि विकाससम्म : उप-प्रमुख रोकायाको जनपक्षीय अभिव्यक्ति

अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका उप-प्रमुख शारदा देवी रोकायाले स्थानिय सरकारको बजेट सीमित भए पनि जनताको विकासलाई प्राथमिकतामा राख्दै योजना अघि बढाइने स्पष्ट पारेकी छिन्।

गोदावरी नगरपालिकामा सम्पन्न वडास्तरीय भेलामा बोल्दै उप-प्रमुख रोकायाले विकासको कार्यप्रणाली र प्राथमिकता विषयमा धारणा राखिन्। उनले वडास्तरीय कार्यक्रमहरूमा सहभागी जनताबाट आएका सुझाव, गुनासो र सल्लाहलाई गम्भीरतापूर्वक लिइने प्रतिबद्धता व्यक्त गर्दै भनिन्, “यो स्थानीय निकायको बजेट धेरै हुँदैन, माथिबाट आउने रकम पनि घटेरै आउँछ, त्यसैले वडामा बजेट निकै सीमित हुन्छ। तर, जनप्रतिनिधिहरूको कर्तव्य भनेको त्यो सीमित स्रोतलाई जनताको हितमा सदुपयोग गर्नु हो।”

उप-प्रमुख रोकायाले सबै जनप्रतिनिधि तथा स्थानीयवासीहरूलाई विकासमा सहकार्य गर्न आग्रह गर्दै भनिन्, “कसैले पनि आफ्नो मात्र होइन, सबै जनताको विकासको कुरा गर्नुपर्छ। एक-अर्काको कुरा काटेर होइन, सहकार्य गरेर मात्र विकास सम्भव छ।”

गाउँघरका महिलाहरूको भूमिका र सक्रियताको चर्चा गर्दै उनले दिदीबहिनीहरूलाई स्वरोजगार तथा पशुपालनमा लाग्न प्रेरित गरिन्। “हामीले गाई, भैंसी, गोरु पालेका छौं, त्यसको संरक्षण र व्यवस्थापन पनि आवश्यक छ। गाई माता हो, हामी पूज्ने संस्कृति छ, त्यसैले त्यसको उचित व्यवस्थापन गर्न पनि स्थानीय सरकार तयार छ,” उनले भनिन्।

छाडा गाईबस्तुका विषयमा समेत उनले विशेष ध्यान दिँदै भनिन्, “छाडिएका पशुहरू अभिभावकविहीन छन्। त्यसलाई हामीले व्यवस्थित गर्नुपर्छ। वडा र नगर सरकार जनताको सेवामा सधैं तत्पर छ।”

भेलाको समापनमा उप-प्रमुख रोकायाले वडाका जनताबाट प्राप्त भएका गुनासा तथा सुझावहरूलाई सकारात्मक रूपमा लिएर आगामी योजनाको आधार बनाइने प्रतिवद्धता जनाइन्। उनले स्थानीय विकासमा सबैको सहकार्य र सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै जनताको सेवा र समृद्धिका लागि आफू सधैं अग्रसर रहेको स्पष्ट पारेकी थिईन्।

 

ताजा समाचार