प्रकाश योगी/ कञ्चनपुर,लोकप्रिय गायिका तथा सर्जक लक्ष्मी हमालको नयाँ लोकपप शैलीको गीत ‘जिन्दगीको गोरेटो’ सार्वजनिक भएको छ। गीतसँगै तयार पारिएको भिडियो समेत युट्युबमार्फत सार्वजनिक गरिएको छ।
गीतमा लक्ष्मी हमाल र बिमल स्याङतानको सशक्त स्वर रहेको छ भने शब्द र संगीत स्वयम् हमालकै सिर्जना हो। जीवनलाई सकारात्मक सोच र रमाइलो साथ बिताउन सकिने सन्देश बोकेको यस गीतले आशावादी भावनाको प्रस्तुति दिएको छ।
भिडियोमा गायिका लक्ष्मी हमालसँगै आयुब के.सी.ले अभिनय गरेका छन्। दुबैको अभिनयले गीतको भावना र सन्देशलाई थप प्रभावशाली बनाएको छ। भिडियोलाई आकर्षक दृश्य संयोजन र मार्मिक प्रस्तुतीकरणले समेटिएको छ।
‘जिन्दगीको गोरेटो’ गीतलाई लक्ष्मी हमालकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गायिका हमालले यस गीतमार्फत नेपाली लोकसङ्गीतमा नयाँपन दिने प्रयास गरेकी छिन्।