गोदावरीद्वारा धार्मिक भ्रमणका लागि जेष्ठ नागरिकलाई विदाई

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका, कैलालीले नगर क्षेत्रभित्रका जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै ५ दिने धार्मिक अध्ययन अवलोकन भ्रमण आयोजना गरेको छ। भ्रमणका लागि आयोजित विदाई कार्यक्रममा टीका तथा खादा लगाई सम्मानपूर्वक बिदा गरिएको थियो।
महिला तथा बालबालिका, जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामी खत्रीका अनुसार भ्रमणमा सहभागीहरूले सुनसरीको चतराधाम, चितवनको देवघाट, जनकपुरधाम र लुम्बिनीको दर्शन गर्ने कार्यक्रम रहेको छ।

विदाई समारोहमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले सहभागी जेष्ठ नागरिकहरूलाई सफल यात्राको शुभकामना व्यक्त गरे। त्यस्तै, गोदावरी नगर प्रवक्ता गोपाल दत्त भट्टले पनि जेष्ठ नागरिकप्रति सम्मान प्रकट गर्दै शुभकामना दिएका थिए।

धार्मिक भ्रमणमा नगरपालिकाका सबै १ देखि १२ वडासम्मका ४५ जना जेष्ठ नागरिकहरू सहभागी छन्। कार्यक्रमको आयोजना गोदावरी जेष्ठ नागरिक समाज, अत्तरियाले गरेको हो।

 

ताजा समाचार