अत्तरियामा आधारभूत कर्मकाण्ड प्रशिक्षण सम्पन्न, प्रमाण पत्रसहित वितरण

कैलाली,अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालय र नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति, कैलालीको संयुक्त आयोजनामा सञ्चालित १५ दिने “आधारभूत कर्मकाण्ड प्रशिक्षण” कार्यक्रम बुधबार एक विशेष समारोहबीच सम्पन्न भएको छ।

समापन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय प्रकाश बम प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले यस्ता प्रकारका प्रशिक्षणहरूले धार्मिक एवं सांस्कृतिक चेतनाको अभिवृद्धि गर्ने मात्र होइन, परम्परागत विधिहरूको संरक्षण तथा प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “हाम्रो मौलिक संस्कृति र परम्परागत ज्ञानको जगेर्नाका लागि यस्ता अभ्यास आवश्यक छन्,” बमले सम्बोधनका क्रममा उल्लेख गरे।

कार्यक्रममा गोदावरी नगरपालिका–४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल, प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, आयोजक संस्थाका पदाधिकारीहरू, प्रशिक्षकहरू तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

१५ दिने प्रशिक्षण अवधिभर प्रशिक्षार्थीहरूले वेदपारायण, संध्या वन्दन, पूजाविधि, होम यज्ञ, श्राद्धकर्म लगायतका विविध हिन्दू कर्मकाण्डका आधारभूत ज्ञान र व्यवहारिक अभ्यासहरू सिकेका थिए। प्रशिक्षकहरूको मार्गदर्शनमा सहभागीहरूले सैद्धान्तिक र प्रयोगात्मक रूपमा प्रशिक्षण लिएका थिए।

समापन कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाण–पत्र वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा संस्कृत तथा धार्मिक परम्पराको निरन्तरता र स्थानीय तहबाट यस्ता पहलको प्रोत्साहन आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो। आयोजकद्वारा आगामी दिनमा यस्तै किसिमका दीर्घकालीन तथा उन्नत प्रशिक्षणहरू सञ्चालन गरिने जानकारी पनि दिइएको छ।

 

ताजा समाचार