कैलाश जाेशी, काठमाडौं : नेपालसहित विश्वभर कमजोर बन्दै गएको कम्युनिस्ट आन्दोलनबारे गहिरो चिन्ता व्यक्त गर्दै वामपन्थी बुद्धिजीवी तथा नेताहरूले गाेलमेच बहस र वैचारिक संश्लेषणमार्फत तत्काल नयाँ दिशातर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूका अनुसार समसामयिक संकटको सामना गर्न वैचारिक पुनर्विचार र नवीन दृष्टिकोण बिना अबको १० वर्षभित्र कम्युनिस्ट आन्दोलन समाप्त हुने सम्भावना रहेको छ।
विश्लेषकहरूले हालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका छन्। उनीहरूको भनाइमा, विश्वव्यापी रुपमा देखा परेको वैचारिक अन्योलको छायाँ नेपालमा पनि परेको छ। त्यसको परिणामस्वरूप नेताहरूबीच विकृति, विचलन र अवसरवादिता व्यापक रुपमा देखिएको छ।
“नेपालका वामपन्थीहरूले वैचारिक समीक्षा र संश्लेषण नगरे नयाँ मोडमा पुग्न गाह्रो हुनेछ,” एक विश्लेषकले भने, “अहिलेको अवस्थालाई हेर्दा, सत्तामा पुगेकाहरूले जनताको हितमा केही योगदान दिन सकेका छैनन्। माओवादीभित्र व्यापक विचलन देखिएको छ।”
उनीहरूले माओवादी नेतृत्वको भूमिका विशेषगरी गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भएको स्वीकारे पनि पछिल्लो चरणमा जनताको अपेक्षा अनुसार माओवादी अघि बढ्न नसकेको बताएका छन्। “यदि माओवादीले बन्दुक नउठाएको भए, आज गणतन्त्र सम्भव हुने थिएन। तर, त्यही माओवादी आज वैचारिक दिशाहीनतामा छ,” विश्लेषणमा उल्लेख गरिएको छ।
‘नेताहरूले सत्तोसराप गरेर होइन, आफूबाट परिवर्तन सुरु गरेर जनताको मर्का हल गर्नुपर्छ,’ भन्दै वक्ताहरूले वर्तमान संकटको निकास समाजवाद नै भएको स्पष्ट पारे। उनीहरूले समाजवादको बहसमा राजावादीहरूलाई समेत सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए। ‘राजा–राजा भनेर चिच्याउने राजेन्द्र लिङ्देनहरूलाई पनि समाजवादको बहसमा ल्याउन सक्नुपर्छ।’
नेकपा (विप्लव) नेतृत्वले दर्शन, राजनीति, र अर्थनीतिमा निरन्तर बहस र विकास गर्दै आम वामपन्थी विचारहरूलाई समेट्ने प्रयास गरिरहेको दाबी पनि गरिएको छ। उनीहरूको धारणा अनुसार, वाम आन्दोलनको भविष्य विचारको नवीनताको साथ पुनःजागरणमा निहित छ।
‘हिजोका दिनमा वैज्ञानिक विचारका कारण मान्छे मारिन्थे, आज एलन मस्कले पृथ्वी छाडेर अन्तरिक्षमा बसोबासको तयारी गर्दा त्यसलाई सम्मान गरिन्छ,’ विश्लेषकले भने, ‘त्यो सोचको विकास पनि कम्युनिस्ट आन्दोलनकै उपलब्धि हो।’
यसैले अबको चुनौती यथास्थितिलाई परिवर्तन गर्दै वैचारिक स्फूर्ति र व्यवहारिक रणनीतिमा अघि बढ्नु रहेको उनीहरूले जोड दिएका छन्। समाजवादी मार्गमार्फत मात्र जनताको दुःख, बेरोजगारी, शोषण, र विसंगतिबाट मुक्ति सम्भव हुने उनीहरूको ठम्याइ छ।