अत्तरिया, सुदूरपश्चिममा खाद्य अधिकार प्रवर्धन र समान पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित परिवर्तनका लागि कार्यरत युवा समूह नेपाल (याक नेपाल) ले अत्तरियामा दुई दिने क्षमता अभिवृद्धि कार्यशाला गाेष्ठी सुरु गरेको छ। खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐनको स्थानीयकरण र प्रभावकारी कार्यान्वयन विषयमा केन्द्रित उक्त कार्यक्रममा कैलाली र कञ्चनपुरका सातवटा पालिकाभित्र रहेका खाद्य अधिकार सञ्जालका प्रतिनिधिहरू तथा विभिन्न सामाजिक समूहका व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष बलबहादुर रोकायले गर्नुभएको थियो भने कार्यकारी निर्देशक डबलबहादुर बम, प्रशिक्षक सन्जु प्रसाद चौधरी, पवित्रा भट्ट, विनोद सिंह लगायतले विविध शीर्षकमा प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षणका क्रममा सहभागीहरूलाई सामाजिक क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरणा, व्यावहारिक सीप र रणनीति प्रदान गरिएको थियो।
झण्डै १७ वर्षकाे लामो अनुभवदेखि समाजमा उत्तरदायित्व अभिवृद्धि, खाद्य अधिकार संरक्षण तथा प्रवर्धनमा क्रियाशील याक नेपालले विशेष रूपमा पहुँचभन्दा बाहिर रहेका समुदायको पहिचान गर्दै तिनको जीवनस्तर सुधार्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै क्रममा, खाद्य सुरक्षासम्बन्धी नीति तथा अभ्यासमा सरकारको भूमिका, विपन्न वर्गका नागरिकहरूप्रति राज्यको उत्तरदायित्व, सुदूरपश्चिमका स्थानीय समुदायको खाद्य सुरक्षाको वर्तमान अवस्था लगायतका विषयमा कार्यशालामा गहन छलफल गरिएको थियो।
कार्यक्रममा ३० जना भन्दा बढी सहभागीहरूले सहभागिता जनाएका थिए। उनीहरूसँगै खाद्य अधिकारका लागि गठित विभिन्न सञ्जाल र मञ्चहरूको भूमिका, राज्यको नीति निर्माण प्रक्रियामा नागरिकको संलग्नता तथा खाद्य सुरक्षाका सवालहरूलाई राज्यका सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा विशेष छलफल गरिएको थियो।
यस किसिमका कार्यशाला गाेष्ठीहरुकाे निरन्तरता दिँदै याक नेपालले समाजका अति विपन्न वर्गको आवाज बुलन्द गर्दै उनीहरूको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग सहकार्य गर्ने कार्य गर्दै आएको छ।