बैतडीका निङ्गलाशैनी र उदयदेव जात्राको रौनक

बैतडी, निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक छाएको छ। दशरथचन्द नगरपालिका–२ मा रहेका यी मन्दिरमा बडा दशैंको अवसरमा हरेक वर्ष जात्रा हुने गरेको छ।

यो वर्ष महाष्टमी र महानवमी एकैदिन परेकाले हिजो र आज जात्रा लागेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कोषाध्यक्ष एवं मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी एकै दिन परेको जनाएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा हरेक वर्ष महाष्टमीका दिन राँगा तथा बोकाको बलिसहित जात्रा हुने गर्छ।

महाष्टमीको अघिल्लो दिन सप्तमीका दिन राँगा मन्दिरमा बाँध्ने चलन छ। जात्राका लागि मन्दिरमा टाढा–टाढाबाट दर्शनार्थीसमेत पुगेका छन्। निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रबाट दर्शनार्थीहरु आउने गरेका छन्। जात्रालाई व्यवस्थित बनाउन मेला व्यवस्थापन समितिले स्वयंसेवक खटाउनुका साथै मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ। निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चारपटक जात्रा लाग्ने गर्छ।

शारदीय नवरात्रमा घटस्थापनादेखि पूजाआजा सुरु भइ सप्तमी र महाष्टमीमा जात्रा लाग्ने गर्छ। पाटन नगरपालिका–६ स्थित प्रसिद्ध उदयदेव मन्दिरमा पनि महाष्टमी र महानवमीका दिन जात्रा लाग्ने भएकाले चहलपहल बढेको छ। उदयदेव मन्दिरमा हिजोदेखि जात्रा सुरु भएको मन्दिरका सहायक पूजारी लवदेव जोशीले बताए। उदयदेव मन्दिरमा राँगाको बलिसहित जात्रा हुने गरेको छ। उदयदेव मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा मैतडको जात्रा पनि भन्ने गरिन्छ।

 

ताजा समाचार