व्यापारीकाे दबाबमा लखेटिए उद्यमी,प्रशासन निरीह,समन्वय नभएको उद्योग वाणिज्यका अध्यक्षको प्रतिक्रिया

अत्तरिया,अल्लोको कपडा उत्पादन गर्दै आएका दार्चुलाको नौगाड गाउँपालिका रुकुम सिंह धामी सुदूरपश्चिम प्रदेशका उत्पादित बस्तुहरूको प्रदर्शनी बजारमा आफ्ना सामान प्रदर्शन गर्न सोमबार साँझ कैलालीको अत्तरियामा पुगेका थिए । दार्चुलाबाट अल्लोको कपडा बनाउने मेसिन सहित अत्तरियाको प्रदर्शनी बजारमा पुगेका उनको एक महिना यतै बसेर आफ्ना उत्पादन प्रदर्शन गर्ने र बिक्री गर्ने योजना थियो ।
maya metro hospital

तर, मंगलबार बिहानै प्रदर्शनी बजारको उद्घाटन हुनु पूर्व नै अत्तरियाका केही व्यापारीहरूको समूहले प्रदर्शनी बजारको गेटमा तोडफोड गर्दै अवरोध गरे पनि उनी निराश हुँदै घर फर्किएका छन् । ‘बिहानै स्थानीय व्यापारीले दसैँको समयमा यहाँ कुनै पनि सामान राख्न पाउँदैनौ भनेर होहल्ला गरे । सुदूरपश्चिमको कुनै पनि सामान यहाँ राख्न पाइँदैन भने’ उनले भने ‘नगरपालिकाले अनुमति दिएको पत्र हेरेरै म पनि यहाँ आफ्ना सामान लिएर आएको थिए । आज त मेयरले पनि बन्दै गर्ने भने । के को लागि भने, त्यो चाही थाहा भएन ।’

उनले दार्चुलाबाट मसिन सहित सामान ल्याएर आउँदा ३० हजार खर्च मात्रै भएको बताए । ‘अरू स्थानीयको उत्पादन पनि लिएर आएको थिए । त्यो बिक्री भएपछि सबै खर्च उठ्छ होला भन्ने सोच थियो । तर, यहाँ आउने बित्तिकै जानुप¥यो’ उनले भने ‘अल्लोको मेसिन सहित ल्याएको थिए । यही एक महिना बसेर बुनेर विक्री गर्ने योजना थियो ।’ उनले स्थानीय डाला, सुप्पा, मह, घ्यु, ओखर पनि लिएर आएको भए पनि सबै फिर्ता लग्नुपर्ने अवस्था आएको बताए । ‘स्थानीय बस्तुको उत्पादन गरेर बिक्री गरौँ भने पनि नपाइने भयो’ उनले भने ‘यो देशमा केही गर्न दिने भएनन् । अब खाडी तिरै जानुपर्ने अवस्था त आउने होला ।’

attariya hospital

कञ्चनपुरको बेलौरीमा ‘बेलौरी’ तोरीको तेल उद्योगको बजारीकरण गर्न अत्तरियामा पुगेका खडक शाहले कार्यक्रम नै स्थगित गरिएपछि निकै दुःख लागेको बताए । ‘यो देशमा उद्योगमाथि गरिने व्यवहार यस्तै रहने हो भने त उद्योग फस्टाउने अवस्था नै रहँदैन’ उनले भने ‘बेलौरी नगरपालिकाकै सहयोगमा उत्पादन भएको तेल नगरपालिका मै बेच्न नपाइने भएपछि हामी कहाँ जाने ।’

उनले पर्दशनी बजारमा कुनै गलत बस्तु पुगेको भए त्यसलाई रोक्नुपर्नेमा पुरै बजार बन्द गरिनु दुःखद भएको बताए । ‘यहाँ प्रशासनले कुनै अनुगमन नै नगरी आफ्नो दायित्वबाट पछाडि हटेको देखियो’ उनले भने ‘यसरी प्रशासन निरीह बन्दा यहाँ आएका सबै उद्यमी रुष्ट भएर गए ।’ उनले राज्यले उद्यम प्रवर्द्धनका लागि बनाएका नीतिको राज्यबाटै उपेक्षा गरिएको बताए । उनले आफूहरू बेलौरी तेलको बिक्री भन्दा बजार प्रवर्द्धन गर्न आएको बताए । बेलौरी तोरीको तेल बेलौरी नगरपालिकाको १५ लाख, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको १० लाख र सम्झौता बहुउद्देश्यीय सहकारीको ५ लाखको लगानीमा गत वर्ष देखि सञ्चालन गरिएको थियो । स्थानीय युवा व्यवसायी दीपक ओझाले स्थानीय उत्पादन गर्ने व्यवसायीलाई निराश गर्ने गरी विरोध गरिएको बताए । उनले स्वदेशमै केही गरौँ भन्ने सोचका युवालाई निराश पार्ने काम भएको बताए ।

स्थानीय उत्पादनको प्रदर्शनी बजारमा गोदावरी नगरपालिकाको सहयोगमा उत्पादन गरिएको ‘गोदावरी कम्पोस्ट मल, स्थानीय स्तरमा उत्पादन हुने भाडा, पहाडी क्षेत्रमा उत्पादन हुने दाल, खाद्यान्न, होजीयारी उद्योग लगायतका १८ वटा स्टल राखिएका थिए । ‘यसपालिको दसैँ तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानले प्रदर्शनी बजारको आयोजना गरेका थिए । तर, स्थानीय व्यवायीको बिरोध पछि बिभिन्न जिल्लाबाट आएका उद्यमी फर्किएका छन ।

प्रशासन निरीह

प्रदर्शनी बजारको मंगलबार बिहान संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो । तर, मन्त्री पुग्नु अघि नै कार्यक्रममा तोडफोड गरिएको भए पनि त्यहाँ खटिएको प्रहरी पनि मुख दर्शक मात्रै बनेका थिए । प्रहरीकै अगाडि तोडफोड हुँदा पनि प्रहरी मौन बसेपछि आफूहरूले कसैका विरुद्ध उजुरी दिने पनि आट नगरेको आयोजक एक सदस्यले भने । असोज २२ गते देखि कार्तिक १७ गते सम्म सञ्चालन हुने उक्त प्रदर्शनी बजारका लागि गोदावरी नगरपालिकाले नै असोज १८ गते अनुमति दिएको थियो । नगरपालिकाको अनुमति अनुसार सञ्चालन गरिएको प्रदर्शनी बजारमा अवरोध आउँदा पनि नगरपालिकाका मौन बसेको कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीले बताए । ‘सोमबार साँझ नै केही व्यवसायी आएर प्रदर्शनीमा जुता र कपडाको स्टल नराख्नुस् भने । हामीले सुदूरपश्चिम बाहेकका कुनै पनि सामान हुँदैनन् भनेर प्रतिबद्धता जनाएका थियौ । त्यसपछि वहाँहरू जानुभयो’ उनले भने ‘बिहान एकाएक व्यवसायी आएर गेटमा तोडफोड गरे ।’
उनले व्यवसायीले नमानेपछि उनीहरूको मान अनुसार नै जुत्ता, चप्पल विक्री नगर्ने र स्याम्पलको रूपमा प्रवर्द्धनको लागि मात्रै राख्ने भन्दा पनि नमानेको बताए । उनले छलफलका लागि नगरपालिकामा जाँदा नगरबाट पनि सकारात्मक जवाफ नआएको बताए । ‘छलफलमा नगरपालिका र उद्योग बाणिज्य संघबाट प्रदर्शन मात्रै गर्नुस् बेच्न केही पनि पाउनुहुन्न भन्ने कुरा आयो’ उनले भने ‘हामीले एक दुई सामानमा कम्प्रमाइज गरे पनि दार्चुला, कञ्चनपुरबाट ल्याइएका सबै स्थानीय उत्पादित बस्तु ल्याएका त्यतिकै राख्नुस् भन्ने अवस्था भएन । त्यसपछि स्थगित गर्ने अवस्थामा पुग्यौ ।’ उनले आफूहरूले सुदूरपश्चिममा उत्पादित बस्तु प्रदर्शनी गर्नु गलत भए लिखित रूपमा गल्ती औँल्याएर लेखेर दिएमा आफूहरू माफी माग्न पनि तयार रहेको बताए । ‘प्रशासनले लिखित रूपमा केही दिएन । र, अहिलेको माहौलमा नगर्नुस् भनेपछि हामी एक्लै लड्न सक्ने अवस्था पनि भएन । त्यो हाम्रो उद्देश्य पनि होइन’ उनले भने ‘हाम्रो उद्देश्य यस क्षेत्रका उत्पादनको प्रवर्द्धन गर्नु थियो । त्यसमा हामी चुक्यौ ।’

समन्वय भएन

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले दसैँको मुखमा व्यापार गर्न बजारमा बसेका व्यापारीले बिक्री गर्ने सामान नै प्रदर्शनी बजारमा बिक्रीका लागि राखिएपछि व्यवसायीहरूले विरोध गरेको बताए ।

‘हामीले व्यवसायीहरूको समस्या बुझ्नै पर्छ । जुन व्यवसायी साल भरी हजारौँ रुपैयाँ भाडा तिरेर बसेका छन् । व्यापार छैन । तर, दसैँको मुखमा आएर कसैले त्यहाँ आएर बजार लगाउँछन् भने त्यो व्यापारी प्रति न्याय हुँदैन’ उनले भने ‘च्याम्बरले यसरी बजार लगाउनु नै थियो भने हामी सँग समन्वयन गरेको भए पनि समस्या आउने थिएन ।’

उनले बजार सञ्चालनका लागि नगरपालिकाले दिएको अनुमति अनुसार सञ्चालन नगरिएको दाबी गरे पनि बजार भित्र के राखिएको थियो भन्ने बारेमा भने आफूलाई जानकारी नभएको बताए । ‘हामी प्रदर्शन हुनु भन्दा अघिल्लो दिन गएका थियौ । त्यो दिन त्यहाँ सामान थिएन । प्रदर्शनी गर्नु राम्रो हो । यहाँका व्यवसायीको पनि समस्या बुझ्नुहोला भनेका थियौ’ उनले भने ‘अझै पनि केही छैन । सबै समन्वय गरेर बजार लगाउन सकियो ।’ उनले आफूहरूले लगाउने महोत्सव र यो बजारमा फरक भएको बताए ।

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्टले आफूहरूले अनुमति दिए पनि ठाउँ नतोकेको बताए । उनले अहिले सम्झौता पनि खारेर नगरेको बताए । उनले स्थानीय व्यापारी र आयोजक बिच टसल परेर कार्यक्रम प्रभावित भएको बताए । पछि के भयो पछि थाहा नभएको उनले बताए ।

 

ताजा समाचार