अत्तरिया, हाल देशभर मनसुनी वायुले सक्रियता देखाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षा पनि हुन सक्ने अनुमान छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहनेछ। ती प्रदेशसहित अन्य केही स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली, सुदूरपश्चिम र अन्य प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको जोखिम भएकाले महाशाखाले बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावबाट सचेत रहन आग्रह गरेको छ।