लोपोन्मुख विजयशाल संरक्षण गर्दै पर्यटकीय वन बनाउने लक्ष्यमा लागेका छौँ : अध्यक्ष भारती

अत्तरिया, कृष्णपुरकाे कृष्णपुर नगरपालिका–२ मा अवस्थित ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहले नमुना सामुदायिक वन निर्माणको अभियानलाई तीव्रता दिएको छ। समूहका अध्यक्ष गोपाल भारतीले आफ्नो कार्यकालको प्रारम्भिक तीन महिनामै विविध सुधारात्मक र विकासमुखी कार्यहरु सुरु गरेको जानकारी गराउँदै सामुदायिक वन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र पर्यटकीयरूपमा विकसित बनाउने दिगो लक्ष्यसहित आफू नेतृत्वमा लागिपरेको बताए।

“वन क्षेत्रको समग्र व्यवस्थापन सुधारका लागि समितिका पदाधिकारी र सदस्यहरूसँग सहकार्यमा अघि बढिरहेका छौं”, अध्यक्ष भारतीले भने, “हिजोका कमजोरी भन्दा भविष्यमुखी योजनामा हामी केन्द्रित छौं।”

उनले कार्यभार सम्हालेपश्चात समूहले तीनवटा तालको संरक्षण, मर्मत तथा स्तरोन्नति गरेको जानकारी दिए। ती तालहरू तराईमा लोपोन्मुख अवस्थामा पुगेका तालको प्रतिनिधि मानिने भएकाले जल स्रोत व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष भारतीको भनाइ छ। साथै, गहिरा बोरिङको पानी संकटबाट राहत दिन पनि यी तालहरूले सहयोग गर्ने अपेक्षा गरिएको छ।

समूहले उपभोक्ताहरूका लागि दुना टपरी उत्पादनका लागि आवश्यक मेशिन जडान गरी धार्मिक क्रियाकलापमा प्रयोग हुने सामग्री स्थानीयस्तरमै उत्पादन गर्ने योजना अघि सारेको छ। साथै साना उपभोक्ताहरूका लागि आवश्यक पर्ने सालकाठका औजार बनाउनका लागि सामग्री कुर्ने मेसिनसमेत ल्याइएको अध्यक्ष भारतीले जानकारी दिए।

वन क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पार्न समूहले कार्यालय परिसरभरि सीसी क्यामेरा जडान गरेको छ। यसले चोरी–तस्करीजस्ता अवाञ्छित गतिविधिमाथि निगरानी राख्न सहयोग गर्ने अध्यक्षको भनाइ छ। त्यस्तै, कार्यालयमा शुद्ध पिउनेपानीका लागि धारा जडान गरी उपभोक्तालाई सहज सेवा उपलब्ध गराइएको छ।

वनसँगको सहजीविता र जैविक विविधताप्रतिको जिम्मेवारीलाई ध्यानमा राख्दै समूहले मौरी पालनको शुरुआत गरेको छ। वन कार्यालय अगाडि मौरीका घार राखेर मौरीपालन विस्तार गर्ने योजना अघि बढाइएको छ।

अध्यक्ष भारतीका अनुसार ग्वालावारी सामुदायिक वन देशकै दुर्लभ लोपोन्मुख वनस्पति विजयशालको क्षेत्र पनि भएको वन हो। त्यसैले यस वनलाई विशेष संरक्षण गर्दै पर्यटक तथा वन अन्वेषकहरूलाई आकर्षित गर्ने गरी अवलोकन क्षेत्रको रुपमा विकास गरिने योजना अघि सारिएको छ। “विजयशाल मात्र नभई समग्र जैविक विविधता संरक्षित राख्दै ग्वालावारीलाई पर्यटकीय गन्तव्य बनाउने हाम्रो अभियान हो,” अध्यक्षले बताए।

ग्वालावारी वनमा उपभोक्ताहरूको सहभागिता बढाउन समूहले वनभित्र सवाल केन्द्र (छलफल स्थल) निर्माणको प्रक्रिया थालेको छ। यसले उपभोक्ताबीच सामूहिक छलफल, योजना तथा निर्णय प्रक्रियामा सहजता ल्याउने विश्वास गरिएको छ।

आफ्नो बाँकी कार्यकालमा वृक्षारोपण, दाउरा र स्याउलाको सहज आपूर्ति, तथा वन संरक्षण र व्यवस्थापनमा थप नविनता ल्याउने योजनासहित आफू कार्यरत रहेको अध्यक्ष भारतीले जनाए। “हामी उपभोक्ताको अपेक्षा र भावनालाई केन्द्रमा राखेर सामुदायिक वनलाई समाजमैत्री बनाउने दिशामा क्रियाशील छौं,” अध्यक्षले बताए।

ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहले हाल सञ्चालन गरेका कार्यहरू समुदाय, पर्यावरण र भविष्यलाई समेटेर अघि बढाइएको छ। अध्यक्ष गोपाल भारतीको नेतृत्वमा वन संरक्षण, उत्पादन, सुरक्षा र सामाजिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै ग्वालावारी सामुदायिक वन साँच्चै पनि ‘नमुना सामुदायिक वन’को परिकल्पना साकार तुल्याउने दिशामा केन्द्रित भएको पाइन्छ। ।

 

ताजा समाचार