बर्षामा अलपत्र परेका विद्यार्थीलाई नेता पाण्डेले पुर्‍याए घरसम्म

गोदावरी, कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको  दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा अध्ययनरत गाेदावरी पुलभन्दा माथिका क्षेत्र सालिनी र भ्यागुते पानीका दर्जनौँ विद्यार्थीहरू बिहान ५ बजेदेखि घरबाट हिँड्न बाध्य छन्। ती विद्यार्थीहरू कक्षा ८ देखि १२ सम्म अध्ययनरत छन् र विद्यालयको समय बिहान ७ बजे सुरु हुने हुँदा यातायातको अभावमा घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था छ।

बिहान अँध्यारोमै हिँड्नु पर्ने र विद्यालय बिदा भएपछि दिउँसो २ बजेसम्म मात्र घर पुग्ने कठिनाइको सामना गर्नु परिरहेको ती विद्यार्थीहरूको गुनासो छ। यद्यपि विद्यालयको बस हाल गोदावरी पुलसम्म मात्र सञ्चालनमा रहेको छ। पुलदेखि माथि करिब ३ देखि ४ किलोमिटर दूरी थप गाडी चलाउने व्यवस्था गरिएमा दर्जनौँ विद्यार्थीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

यसै सन्दर्भमा गोदावरी क्षेत्रका सामाजिक अभियन्ता तथा प्रभावशाली युवा नेता लोकराज पाण्डेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत विद्यार्थीको यस समस्याप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले लेखेका छन्, “यो दुर्गा लक्ष्मीजस्तो नमुना विद्यालयको अवस्था देख्दा दुःख लाग्छ। सामान्य व्यवस्थापनबाट समाधान सम्भव छ भने नगरपालिकाको ध्यान जानु पर्छ।”

पाण्डेका अनुसार, बिहीबार दिउँसो १:३० बजेतिर पानी परेको कारण साधन नपाएर गोदावरी पुलनजिक अलपत्र परेका विद्यार्थीहरूलाई उनले स्वयं आफ्नो सवारी साधनबाट घरसम्म पुर्‍याएका थिए। “ती विद्यार्थीहरू पानीले चिसिएर पुलनजिक छप्किएर बसेका थिए, यो दृश्यले मलाई छुन बाध्य बनायो,” उनले भने।

उनले थप भनेका छन्, “बसको अभाव छ भने थप गरौँ, नत्र हालको बसलाई नै पुलभन्दा माथि सञ्चालन गरौँ। विद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानीय सरकार मिलेर यो समस्या समाधान गर्न सकिन्छ। यदि सुन्ने अवस्था छैन भने अभिभावकहरूसँग मिलेर ज्ञापनपत्र बुझाउनुपर्ने अवस्था आउन सक्छ, उनले भने।”

पाण्डेले सामुदायिक विद्यालयहरूको विश्वसनीयता घट्नुमा यस्ता आधारभूत सुविधाको अभाव पनि एक प्रमुख कारण रहेको उल्लेख गरेका छन्। उनका अनुसार, निजी विद्यालयहरूमा विद्यार्थी घरदैलोबाटै विद्यालयसम्म लैजाने व्यवस्था भएकाले अभिभावकको विश्वास उच्च रहेको छ। यस्तै सुविधा सामुदायिक विद्यालयहरूले पनि दिन सक्ने हो भने विद्यार्थी संख्या बढ्नेछ र सामुदायिक शिक्षाको गुणस्तर सुधारिनेछ।

दुर्गा लक्ष्मी विद्यालय गोदावरी क्षेत्रकै एक उत्कृष्ट शैक्षिक संस्था मानिन्छ। त्यहाँ अध्ययनरत विद्यार्थीहरूको लागि यातायातको समस्या समाधान गर्नु नितान्त आवश्यक भएको जनाउँदै पाण्डेले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

शिक्षा क्षेत्रमा देखिएको यस्ता अव्यवस्था सामूहिक पहलद्वारा समाधान गर्न सकिन्छ भन्ने विश्वास स्थानीयवासीको समेत रहेको छ। विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारको समन्वयमा छिटो निर्णय लिई विद्यार्थीहरूको सास्ती अन्त्य भन्ने उहाँको पूर्ण विश्वास समेत रहेको पाइन्छ। यस्ता खालकै क्षेत्रकाे विषयमा स्थानीय सरकार र विद्यालयको जिम्मेवार हो भन्ने कुरा पनि उनले दर्सएका छन्।

 

ताजा समाचार