धनगढी, सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पर्यटन तथा खेलकुद पूर्वाधार निर्माणमा विशेष जोड दिँदै महत्त्वपूर्ण योजनाहरू अघि सारेको छ।
धार्मिक तथा पर्यटकीय क्षेत्रहरू – खप्तड, बडीमालिका, मालिकार्जुन शिखर, सिगसधाम, रमारोशनलगायत क्षेत्रमा केबुलकार निर्माणको सम्भाव्यता अध्ययन गर्न सरकारले बजेट विनियोजन गरेको छ। यसै सन्दर्भमा, बाजुराको बडीमालिकामा नेपाल सरकारको सहकार्यमा सात करोड २५ लाख रुपैयाँको बजेट छुट्याइएको छ।
‘पर्यटन पूर्वाधार, विकासको आधार’ नाराका साथ ‘बाँकावीर पर्यटन प्रवर्धन कार्यक्रम’ प्रदेशभर सञ्चालन गरिनेछ। चुरे क्षेत्रको टाकुरा राजकाँडादेखि डुडेझारीसम्म प्याराग्लाइडिङ सञ्चालनको योजना पनि बजेटमा समेटिएको छ।
यसैबीच, डुडेझारीदेखि चिसापानी बजारसम्म झन्डै ४ अर्ब ४१ करोडको लागतमा निर्माण भइरहेको जालपादेवी केबुलकारको काम गत पुस महिनादेखि सुरु भइसकेको छ। केबुलकार सञ्चालनमा आएपछि चिसापानी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
पर्यटन पूर्वाधारतर्फ कैलालीको बर्दगोरिया र कञ्चनपुरको ब्रह्मदेशमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण तथा प्रदेशका नाकामा पर्यटन सहायता केन्द्र स्थापना गर्न समेत बजेट विनियोजन गरिएको छ।
खेलकुद क्षेत्रतर्फ ‘एक जिल्ला, एक क्रिकेट खेलमैदान कार्यक्रम’अन्तर्गत सबै जिल्लामा खेलमैदान निर्माण गरिनेछ। टीकापुर स्पोट्र्स एकेडेमीका लागि पनि बजेट छुट्याइएको छ। साथै, राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई विशेष सम्मानसहित प्रोत्साहन दिने सरकारको नीति रहेको छ।