अत्तरिया, धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ५६ करोड ४ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शनिबार सम्पन्न १३औं नगरसभामा उपप्रमुख कन्दकला रानाले बजेट प्रस्तुत गरेकी हुन्।
बजेटमा चालुतर्फ १ अर्ब ३८ करोड २५ लाख ५१ हजार र पुँजीगततर्फ १ अर्ब १८ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ। उपमहानगरको आय स्रोतमा आन्तरिक आय ५४ करोड ७९ लाख, राज्य बाँडफाँड ५७ करोड ६० लाख, संघीय सरकारबाट ९९ करोड ९ लाख र प्रदेश सरकारबाट ११ करोड २२ लाख रुपैयाँ समावेश छन्। मौज्दात रकम ३३ करोड ३२ लाख रहेको छ।
अघिल्लो वर्षको तुलनामा १७.२२ प्रतिशतले बढी यो बजेट नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको हो। चालु आर्थिक वर्षको बजेट २ अर्ब १८ करोड थियो भने जेठ मसान्तसम्म १ अर्ब ८१ करोडभन्दा बढी खर्च भइसकेको उपमहानगरले जनाएको छ।
नगर प्रमुख गोपाल हमालले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा ‘टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ विशेष आकर्षण बनेको छ। यस अन्तर्गत दलित समुदायकी कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्रालाई वार्षिक २ हजार बराबरको स्टेसनरी सामग्री निःशुल्क वितरण गरिनेछ। विज्ञान, शिक्षा, कानुन र कृषि विषयमा उच्च शिक्षा लिनेहरूलाई समेत सहयोग गरिनेछ।
‘हाम्रो धनगढी, हामी बनाउँछौं’, ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’, ‘निःशुल्क अपाङ्ग सहायता सामग्री वितरण’, ‘हरियाली प्रवर्द्धन’, ‘शनिवारीय महिला उद्यम बजार’, ‘उज्यालो धनगढी’, ‘जहाँ खाली, त्यहाँ हरियाली’, ‘पढ्दै कमाउँदै’, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ लगायतका कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।
त्यसैगरी, ‘एक वडा, एक आर्थिक क्षेत्र’, ‘सामाजिक विद्यालय शैक्षिक गुणस्तर सुधार’, ‘सीप तथा रोजगार मेला’, ‘सन्ध्याकालिन बजार’, ‘नगर प्रहरी’, ‘आमा बचाउ कार्यक्रम’जस्ता कार्यक्रमसमेत समावेश छन्।