गोदावरीमा खर्चको होड : इन्धन,खाजामै करोड नजिक खर्च,एमाले नेता भट्टको कडा खबरदारी

अत्तरिया, महालेखा परीक्षण प्रतिवेदनले गोदावरी नगरपालिकामा आर्थिक अनुशासनको चरम बेथिति उजागर गरेको छ। प्रतिवेदन अनुसार नगरपालिकाले एक वर्षको अवधिमा मात्र इन्धनमा ९७ लाख रुपैयाँ, खाजा तथा खानामा ४७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको देखिएको छ।

यी तिनै शीर्षकमा नगरपालिकाले कुल २ करोड ३ लाख रुपैयाँभन्दा बढी खर्च गरेको तथ्य बाहिर आएपछि स्थानीय स्तरमा तीव्र आलोचना सुरु भएको छ।

सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै गरिएको यति ठूलो रकमको खर्चले प्रशासनिक मनोमानी र भ्रष्ट अभ्यासलाई उजागर गरेको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले आरोप लगाएका छन्।

उनले भने, “यो नगरपालिकामा जनताको करमाथि खुलेआम मनपरि भइरहेको प्रमाण हो। जनताको पसिना बगाएर उठाइएको करको यति ठूलो दुरुपयोग अब सह्य हुँदैन।”

भट्टले गोदावरी नगरपालिकामा मेयर नेतृत्वको मनपरितन्त्र चलिरहेको भन्दै तत्काल छानबिन र कानुनी कारबाहीको मागसमेत गरेका छन्।

उनको भनाइमा, “इन्धन, चिया-खाजाकै नाममा करोडौं सक्ने नगर कार्यपालिका जनताको सेवा होइन, सुविधा भोगमा रमाएको छ।”

महालेखा परीक्षणले समेत मरम्मत तथा सम्भारसम्बन्धी कार्यमा प्रक्रिया नअपनाएको, खर्चको औचित्य नदेखिएको र ऐन विपरीत खर्च भएको उल्लेख गरेको छ। यसले जनप्रतिनिधिहरूको जवाफदेहितामा गम्भीर प्रश्न उठाएको छ।

 

ताजा समाचार