शम्भु प्रसाद भट्टराई स्मृति भेट्रान पेनाल्टी सुटआउट प्रतियोगिता असार ७ गतेदेखि सुरु हुने

अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका–३ मालाखेतीमा रहेको माउण्ट एभरेष्ट क्लबको आयोजनामा प्रथम शम्भु प्रसाद भट्टराई स्मृति भेट्रान पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ। प्रतियोगिता असार ७ गतेदेखि सुरु हुने र चौकीडाँडा महिला सामुदायिक वन नजिकैको खुला खेल मैदानमा सञ्चालन गरिने क्लबले जनाएको छ।

यस सम्बन्धमा आयोजित पत्रकार सम्मेलन जेठ ३० गते सम्पन्न भएको हो। सम्मेलनमा आयोजक संस्था, स्थानीय खेलप्रेमी, खेलाडी, पत्रकार तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कोरोना महामारीको समयमा असामयिक निधन भएका समाजसेवी शम्भु प्रसाद भट्टराईको स्मृतिमा आयोजना गरिएको हो। पत्रकार सम्मेलनमा बोल्दै माउन्ट एभरेष्ट क्लबका सचिव आशिष भट्टराईले स्व. भट्टराई वडा नं. ३ का युवाहरूका अभिभावकसरह रहेका समाजसेवी भएको स्मरण गर्दै, उहाँको योगदानको कदर स्वरूप स्मृति प्रतियोगिता आयोजना गरिएको बताए।

उनका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदको माध्यमबाट युवामा सकारात्मक सोच विकास गर्नु, आपसी सद्भाव र एकता सुदृढ गर्नु तथा समाजमा फैलँदै गइरहेका कुलत र गलत प्रवृत्तिहरूको न्यूनीकरण गर्नु हो, उनलेे भने ।

सचिव भट्टराईका अनुसार, प्रतियोगिता ३० वर्ष वा सोभन्दा माथिका खेलाडीहरूका लागि भेट्रान समूहमा सीमित हुनेछ। खेल नक–आउट चरणमा खेलाइनेछ भने टिम प्रवेश शुल्क १ हजार रुपैयाँ तोकिएको छ। प्रतियोगितामा २० देखि ३० टिमसम्म सहभागी हुने अपेक्षा गरिएको छ।

विजेता टिमलाई २१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेता टिमलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। समग्र प्रतियोगिता सञ्चालनका लागि करिब १ लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। टिम दर्ताको अन्तिम मिति असार ६ गते तोकिएको छ।

कार्यक्रममा सह–प्रायोजक मानाङ फाउन्डेसन नेपालका सदस्य बालकृष्ण भट्टराईले युवालाई सकारात्मक मार्गमा उन्मुख गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारे। उनले भने, “स्व. शम्भु प्रसाद भट्टराई सामाजिक रूपान्तरणको अभियानमा समर्पित व्यक्ति थिए। उहाँको स्मृतिमा आयोजना गरिएको यो प्रतियोगिता युवाहरूलाई कुलत, दुर्व्यसन, र नकारात्मक गतिविधिबाट टाढा राख्न प्रेरक हुनेछ, उनले भने।”

भट्टराईले युवालाई रचनात्मक गतिविधिमा आकर्षित गर्न यस्ता प्रतियोगिता आवश्यक भएको बताउँदै, समाजमा सकारात्मक परिवर्तन ल्याउन खेलकुद एक महत्वपूर्ण माध्यम भएको समेत बताए।

मानाङ फाउन्डेसन नेपाल सामाजिक रूपान्तरणमा क्रियाशील संस्था रहेको उल्लेख गर्दै उनले फाउन्डेसनले विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आएको जानकारी दिए। ‘महा प्रस्थान यान’ सेवा जस्ता निःशुल्क सामाजिक सेवाहरू समेत सञ्चालनमा रहेको उनले बताए।

माउण्ट एभरेष्ट क्लब मालाखेतीले हरेक वर्ष स्मृति प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। गत वर्ष ‘नरेन्द्र कृष्ण स्मृति प्रतियोगिता’ सम्पन्न गरिएको थियो भने यस वर्ष स्व. शम्भु प्रसाद भट्टराईको सम्मानमा प्रतियोगिता आयोजना गरिएको हो। क्लबले भविष्यमा पनि खेलकुद मार्फत समाजमा सकारात्मक कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका–३ नं वडा कार्यालय रहेको छ भने सह–प्रायोजकका रूपमा मानाङ फाउन्डेसन नेपालले सहकार्य गरिरहेको छ। स्थानीय तह र सामाजिक संस्थाबीचको यस्तो सहकार्यले समाजमा खेलकुद संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा स्थानीयहरुले गरिएको छ।

 

ताजा समाचार