धनगढी, नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन धनगढीमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा नेकपा एमालेका वरिष्ठ नेताहरूको उपस्थिति रही खेलकुद क्षेत्रको समग्र विकासका साथै पार्टी एकता र संगठन सुदृढीकरणका विविध विषयमा महत्वपूर्ण धारणा राखियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले अधिवेशनलाई सम्बोधन गर्दै पार्टी एकता र प्रतिबद्धताको सन्देश दिएका थिए। उनले भने, “पार्टीभित्र दृढ एकता कायम भयो भने सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एमालेको जित सुनिश्चित हुन्छ। तर, एकता नभए हालसम्मको दुई सिट समेत गुम्ने खतरा रहन्छ।” उनले एमालेमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको उल्लेख गर्दै यस्ता चुनौतीको सामना गर्न जनवर्गीय संगठनहरूको सक्रियता अपरिहार्य भएको बताए।
सचिव भट्टले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको नेतृत्वलाई उदाहरणीय भन्दै उनले राष्ट्र निर्माणमा अतुलनीय योगदान गरिरहेको बताए। “अध्यक्ष दिनको २० घण्टा कार्यरत हुनुहुन्छ, यस्तो आत्मसमर्पित नेतृत्वबाट खेलाडीहरू समेत प्रेरणा लिनुपर्छ,” उनले भने। साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मनिर्भर ढंगले अगाडि बढाउनु पर्नेमा उनले जोड दिए।
महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहालले अधिवेशनको अवसरमा बोलेका थिए, “पार्टीमा सङ्कट उत्पन्न भएका बेला महासङ्घजस्ता जनवर्गीय संगठनहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ।” उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई सशक्त बनाउन महासङ्घले सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरे। साथै, यस अधिवेशनले योग्य र सक्षम नेतृत्व चयन गर्ने विश्वास पनि व्यक्त गरे।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा खेलकुद र खेलाडीहरूमा अपार सम्भावना रहेको बताएका थिए। उनले समृद्ध राष्ट्रको परिकल्पनामा खेलकुदलाई आर्थिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै विशेष गरी क्रिकेट खेलमा क्षेत्रीय सम्भावनाहरूको सदुपयोग गर्न स्तरीय मैदान निर्माण अपरिहार्य रहेको बताए।
प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले एमालेले पछिल्लो समय खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सुदूरपश्चिमको खेलकुद नीतिमा राज्य, सरकार तथा सम्बन्धित निकायहरू गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए। “पूर्वाधार विकास, नीतिगत सुधार र स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धिमा प्रदेश सरकारको ध्यान केन्द्रीत गरिनु पर्छ,” उनले भने।
महासङ्घका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज विष्णु चन्दले महासङ्घले सुदूरपश्चिमको खेलकुद विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको जानकारी गराए। उनले स्थानीय स्तरमा खेलकुद संरचना, कार्यक्रम र संगठन सुदृढीकरणमा महासङ्घले खेलेको भूमिकालाई उल्लेखनीय बताए।
अधिवेशनको अवसरमा विभिन्न खेलकुद सङ्गठनमा क्रियाशील र योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। समापन मन्तव्य दिँदै महासङ्घ अध्यक्ष प्रकाश चन्दले सुदूरपश्चिम प्रदेशको खेलकुद विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा महासङ्घ निरन्तर क्रियाशील रहेको जनाउँदै नयाँ नेतृत्वले पनि यस अभियानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।
कार्यक्रमले एमाले नेतृत्वमा खेलकुद क्षेत्रको समावेशी विकास, संगठन सुदृढीकरण तथा राजनीतिक स्थायित्वका लागि जनवर्गीय सङ्गठनहरूको भूमिकाको आवश्यकता प्रतिविम्बित गरेको थियो। अधिवेशनले खेलकुद क्षेत्रमा नीतिगत तथा संरचनागत सुधारका लागि प्रदेश सरकार र सम्बन्धित पक्षहरूलाई थप जिम्मेवारी बोध गराएको छ।