अत्तरिया, कैलालीको चुरे गाउँपालिकामा सामुदायिक वन व्यवस्थापन सुदृढ र दिगो बनाउने उद्देश्यले एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जलवायु परिवर्तन स्थानीय अनुकूल परियोजनाको सहयोगमा आयोजित उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गरिएको थियो।
कार्यक्रमको अध्यक्षता चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले गर्नुभएको थियो। अध्यक्ष बोगटीले सामुदायिक वन उपभोक्ता समूहहरूलाई दिगो वन व्यवस्थापनका लागि जिम्मेवार, सचेत र सक्रिय बन्न आह्वान गर्दै जलवायु परिवर्तनको चुनौती सामना गर्न स्थानीय स्रोत साधनको अधिकतम उपयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा चुरे गाउँपालिकाकी उपाध्यक्ष धनादेवी थापा, वडा नं. ६ का वडाध्यक्ष प्रेमबहादुर साउद, वडा नं. २ का वडाध्यक्ष केशव साउद, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिबिराज सोति, तथा सहजपुर सब-डिभिजन वन कार्यालयका प्रमुख श्यामसुन्दर माझीको समेत उपस्थिति रहेको थियो।
उक्त अभिमुखीकरण कार्यक्रमका क्रममा सामुदायिक वनको दिगो व्यवस्थापन, वन क्षेत्रसँग सम्बन्धित वातावरणीय चुनौतीहरू, जलवायु परिवर्तनका असरहरू तथा तिनको स्थानीय स्तरमा सामना गर्न सकिने उपायहरूबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। सहभागीहरूले समूहगत छलफलका माध्यमबाट स्थानीय स्तरमा देखिएका समस्या र तिनको समाधानबारे अनुभव साटासाट गरेका थिए।
कार्यक्रममा सहभागीहरूलाई सामुदायिक वनको दीर्घकालीन उपयोग, वनजन्य उत्पादनको व्यवस्थापन, जैविक विविधताको संरक्षण, र जलवायु अनुकूल अभ्यासहरूबारे व्यावहारिक तालिमसमेत दिइएको आयोजकले जनाएको छ। अभिमुखीकरणका क्रममा प्रस्तुत गरिएका सामग्री तथा छलफलबाट सहभागीहरूमा वन संरक्षणप्रति थप चेतना र प्रतिबद्धता बढेको सहभागीहरूको धारणा थियो।
कार्यक्रमको समापनमा वक्ताहरूले सामुदायिक वन उपभोक्ता समूहहरूलाई आगामी दिनहरूमा अझ बढी जिम्मेवार, पारदर्शी र समावेशी ढंगले कार्य गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। कार्यक्रमले स्थानीय स्तरमा जलवायु अनुकूल वन व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने खाँचो औंल्याउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने मागसमेत उठाइएको थियो।
सहभागीहरूले प्राप्त जानकारी र ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।