परशुराम, “शिक्षा भनेको केवल किताबको ज्ञान होइन, बानी व्यवहारको सुधार, सही मार्गदर्शन र जिम्मेवार नागरिक निर्माण पनि हो,” भन्छन् भुवनेश्वरी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बर सिंह थ्वाल। आज देशका सहरहरूमा पनि नमुना भनिएका विद्यालयहरू छन्, तर डडेलधुराको जुन विद्यालय सुदूरपश्चिमकै उदाहरणीय काम गरिरहेको छ, त्यो साँच्चै प्रेरणादायी छ।
डडेलधुराकाे परशुराम नगरपालिका वडा नं.५ मा रहेको यो विद्यालयमा हाल ७०० विद्यार्थी अध्ययनरत गराइरहेको छ। दूरदराजका बस्तीहरूबाट समेत विद्यार्थीहरू शिक्षाको खोजीमा यहाँ आउँछन्। विद्यालयले उनीहरूलाई शिक्षामात्र नभएर बस्तीमा बस सेवा सञ्चालन गरेर शिक्षाको पहुँचमा समेत न्याय दिलाइरहेको छ।
शिक्षक र विद्यार्थीबीचको सम्बन्ध मात्र पठनपाठनमै सीमित छैन। यहाँ विद्यार्थीहरू आफ्नो सोच खुलेर शिक्षकसँग राख्न सक्ने, बहस गर्न सक्ने वातावरण बनाइएको छ। थ्वाल भन्छन्, “सामुदायिक विद्यालयमा खुला बहस र विचार आदानप्रदानको वातावरण बनाउनु आवश्यक हुन्छ, जुन निजी विद्यालयहरूमा कमै देखिन्छ, उनको भनाइ थियो ।”
यो विद्यालयमा विद्यार्थीहरूको आनीबानी सुधार, अनुशासन, आत्मबल, सृजनशीलता, समुहमा काम गर्ने सीप आदिमा विशेष ध्यान दिइन्छ। अध्ययनसँगै विधि सिकाउने र व्यवहार सुधार्ने संयोजनले यहाँको सिकाइ प्रक्रियालाई विशिष्ट बनाएको प्रधानाध्यापक थ्वालले बताए ।
प्रधानाध्यापक थ्वालका अनुसार, विद्यार्थीहरूको गुनासो र समस्या बुझेर विद्यालयले बस सेवा सञ्चालनमा ल्याएको हो। “सबै बस्तीमा पुग्न गाह्रो छ, तर जहाँ सम्भव भयो, त्यहाँ हामीले बस पुर्याएका छौँ,” उनले बताए।
यो पहलले शिक्षा पहुँचमा ठूलो परिवर्तन ल्याएको छ। जसले गर्दा विद्यालय आउन नपाउने, टाढाबाट हिंडेर आउनुपर्ने विद्यार्थीहरूका लागि शिक्षा सहज र सुरक्षित भएको समेत उनले बताए ।
“शैक्षिक गुणस्तरको मापन परीक्षा परिणामले मात्र गर्न सकिन्छ भन्ने होइन, तर विद्यार्थीको अन्तिम चरणको नतिजाबाट विद्यालयको समर्पण र कार्यपद्धतिको आँकलन अवश्य गर्न सकिन्छ,” थ्वाल भन्छन्।
विद्यालयले गुणस्तरीय शिक्षाका लागि निरन्तर प्रयत्न गरिरहेको छ। प्रत्येक महिना अन्तिम दिन विद्यार्थी, अभिभावक र शिक्षकबीच छलफलको आयोजना गरिन्छ। यस्ता छलफलबाट आउने निष्कर्षहरू अर्को महिनाको पाठ्यक्रम र कार्ययोजनामा लागू गरिन्छ, उनले भने ।
भुवनेश्वरी विद्यालयमा अभिभावक शिक्षाका विषयमा जानकार, संवेदनशील र सक्रिय देखिन्छन्। अभिभावकहरूसँगको समन्वय र नियमित बैठकहरूले विद्यालय–समुदाय सम्बन्धलाई मजबुत बनाएको छ।
“जब अभिभावकले आफ्ना सन्तानलाई भर्ना गर्छन्, उनीहरू ढुक्क हुन्छन् कि बच्चाले सिर्जनात्मक वातावरण पाउँछ,” थ्वाल भन्छन्।
पढाइसँगै खेलकुद, कला, संगीत, वक्तृत्व, लेखनजस्ता अतिरिक्त क्रियाकलापहरू विद्यालयको नियमित भाग बनेका छन्। विद्यालयले यी क्रियाकलापमार्फत विद्यार्थीहरूका रुचि र क्षमता पहिचान गर्ने प्रयास गरेको छ।
“विद्यार्थी कुन क्षेत्रमा अग्रसर छन्, त्यसमा आधारित शिक्षा दिइनुपर्छ,” थ्वालको धारणा छ। यसैले, विद्यार्थीको समग्र विकास सुनिश्चित गर्न विद्यालयले विविध क्रियाकलापमा ध्यान दिएको उनको भनाइ थियो ।
विद्यालयमा नमुनाको भौतिक संरचना तयार गरिए पनि आर्थिक अभावका कारण मर्मत र निरन्तरता चुनौती बनेको छ। तर शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति र समुदाय मिलेर यसलाई व्यवस्थापन गर्दै आएका छन्।
सुशासन, पारदर्शिता, सहकार्य र जवाफदेहिताको अभ्यासले विद्यालयमा सकारात्मक वातावरण सिर्जना गरेको छ। शिक्षकहरूको आपसी सद्भाव, विद्यालयप्रति समर्पण र अतिरिक्त क्रियाकलापमा सहभागिता नै विद्यालयको मेरुदण्ड बनेको छ, उनको बुझाइ र भनाइ थियो ।
थ्वालले काठमाडौँदेखि हुम्ला, डोल्पा, दार्चुलासम्म एउटै “नमुना निर्देशिका” लागू हुन्छ,तर व्यावहारिक नहुने बताउँछन्। “नमुना निर्देशिका सबै ठाउँका लागि एकै किसिमले लागू हुने भएकाले त्यसलाई कसरी विद्यालय व्यवस्थापन र शिक्षक र प्रधानाध्यापक लगायतले कसरी त्यसको सर्कुलेसनमा शुभारम्भ गर्छ भन्ने कुरामा विशेष भूमिका हुने उनको भनाइ थियो। विद्यालय सञ्चालनको मूल मापदण्ड भनेको शिक्षक, विद्यार्थी र अभिभावकबीचको त्रिकोणात्मक समन्वय हो,” उनी भन्छन्।
उनका अनुसार, विद्यालयभित्रको अनुशासन, शिक्षण पद्धति, अभिभावकको सहभागिता र स्थानीय आवश्यकतालाई समेटेर मात्रै नमुनाको लक्ष्य प्राप्त गर्न सकिन्छ।
भुवनेश्वरी विद्यालयले आफ्नो इतिहासमा थुप्रै आरोहअवरोह देखेको छ। तर निरन्तरता, प्रतिबद्धता र नेतृत्वले विद्यालयलाई आजको सफल अवस्थासम्म ल्याएको हो। थ्वाल स्वयंले दुई दशकभन्दा बढी समय विद्यालयको नेतृत्व गरेर शैक्षिक रूपान्तरणमा अतुलनीय योगदान दिएका छन्।
उनको नेतृत्वमा विद्यालयले बालमैत्री कक्षाकोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेलमैदान, सौर्य ऊर्जामा आधारित शुद्ध पानीको सुविधा, स्वच्छ शौचालय, र प्राविधिक शिक्षा अभ्यासमा समेत विस्तार गरेको छ।
विद्यालयले पछिल्लो समय सीपमूलक शिक्षामा विशेष ध्यान दिएको छ। जीवनोपयोगी सीप, प्राविधिक ज्ञान, कृषि, हस्तकला जस्ता अभ्यासहरू मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउन विद्यालयले प्रयत्न गरिरहेको छ।
“पढ्न मात्र जानेर हुँदैन, गर्न पनि जान्नुपर्छ,” थ्वाल बताउँछन्। यही दृष्टिकोणले गर्दा यहाँको शिक्षाले विद्यार्थीलाई व्यवहारिक जीवनका लागि तयार बनाइरहेको छ।
भुवनेश्वरी विद्यालयबाट अहिलेसम्म कुनै पनि गम्भीर गुनासो वा गलत कार्यमा संलग्न विद्यार्थीको रिपोर्ट आएको छैन। “हामीले पढाएका विद्यार्थीहरू अहिले सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहेका छन्,” थ्वाल गर्वका साथ भन्छन्।
शिक्षाको उज्यालो दीप छर्ने काम राजधानीका ठूला निजी विद्यालयले मात्र होइन, दुर्गम डडेलधुरा जिल्लाको एउटा सरकारी सामुदायिक विद्यालयले पनि गरिरहेको छ – त्यो हो भुवनेश्वरी नमुना माध्यमिक विद्यालय। समर्पित नेतृत्व, समुदायको सहकार्य, गुणस्तरीय शिक्षण र सुशासनको संयोजनले यो विद्यालय अब केवल परशुराम नगरपालिका मात्र होइन, समग्र सुदूरपश्चिमको शैक्षिक प्रेरणाको स्रोत बन्ने सम्भावना बोकेको छ।
“हामीले हिजोका पुस्ताबाट पाएको शिक्षा आजका पुस्तालाई दिनु मात्र होइन, परिमार्जन गरेर अझ सशक्त बनाउनुपर्छ,” थ्वाल भन्छन्, “त्यही मार्गमा हामी निरन्तर अघि बढिरहेका छौँ, उनले भने।”
२०३० सालमा स्थापना भएको भुवनेश्वरी नमुना माध्यमिक विद्यालयले आफ्नो लामो शैक्षिक यात्रा सफलतापूर्वक पार गर्दै आएको छ। विद्यालयमा विद्यमान समर्पण, नेतृत्व, सामुदायिक सहभागिता र विद्यार्थी-शिक्षक सम्बन्धले यसलाई साँच्चिकै “नमुना” बनाएको छ। आगामी दिनहरूमा पनि यस विद्यालयले अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास स्थानीय समुदाय, अभिभावक, शिक्षक र प्रशासनमा झन् बलियो बन्दै गएको छ।