गोदावरी – १ अत्तरियामा नवनिर्मित कृषि हाटबजार आयो सञ्चालनमा ​​​​​​​

गोदावरी नगरपालिका र जर्मन सहयोग संस्था जिआईजेठ को संयुक्त लगानीमा झण्डै ४२ लाख रुपैयाँको बजेटमा निर्माण सम्पन्न गरिएको हाटबजारको उद्‌घाटन नगरप्रमुख बिरेन्द्र भट्टले गरेका हुन् ।

नगरप्रमुख भट्टले उद्‌घाटन समारोहमा बोल्दै हाटबजारले कृषकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने विश्वास व्यक्त गरे। “यो हाटबजार नगरवासी किसानहरूको उत्पादनलाई स्थानीय स्तरमै बजारीकरण गर्ने, आत्मनिर्भरता बढाउने र आर्थिक समृद्धिको मार्ग खोल्ने महत्वपूर्ण पाटो हो,” उनले भने, “यसबाट उत्पादन र उपभोग बीचको दूरी घट्नेछ, र उपभोक्ताले ताजा तथा सस्तो मूल्यमा स्थानीय उत्पादन खरिद गर्न सक्नेछन् ।”

उनका अनुसार हाटबजार पारदर्शी, व्यवस्थित र निर्धारित कार्यविधिअनुसार सञ्चालन हुनेछ र नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन दिनेछ । गोदावरी नगरपालिकाले हालसम्म १५ हजार कृषक परिचयपत्र वितरण गरिसकेको जानकारी दिँदै भट्टले किसानले आफ्ना तरकारी तथा कृषि उपज हाटबजारमा आफैं बिक्री गर्न सक्ने र बिचौलियाबाट छुटकारा पाइने बताए ।

हाटबजार सञ्चालनसँगै कृषकको उत्पादकत्वमा वृद्धि, आय आर्जनको स्रोतमा विस्तार र आत्मसम्मानपूर्वक कृषिमा लाग्ने वातावरण बन्ने अपेक्षा गरिएको छ । ताजा, सुरक्षित र विषादीमुक्त तरकारीको पहुँच स्थानीय उपभोक्तासम्म सहज रूपमा पुर्‍याउने लक्ष्य लिएको यो पहलले नगरको समग्र आर्थिक चक्रलाई समेत सबल बनाउने विश्वास गरिएको छ ।

 

ताजा समाचार