बेहडाबाबा मन्दिरमा हजारौँ भक्तजनको घुइँचो

कैलाली ,सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्ति पीठ बेहडाबाबा मन्दिरमा गंगादशहराको अवसर पारेर भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको छ। शनिबार मन्दिर परिसरमा दर्शन तथा पूजाआजाका लागि आएका हजारौँ श्रद्धालु भक्तजनहरूले आस्था प्रकट गरेका छन्।

धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित यो मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको थियो। सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता र मन्दिर व्यवस्थापन समितिको संयोजनमा भक्तजनहरूलाई लाइनबद्ध रुपमा दर्शन गराउने व्यवस्था मिलाइएको थियो। स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा मन्दिरको सुरक्षा तथा व्यवस्थापन चुस्त बनाइएको छ।

मन्दिर परिसरमा भेटिएका भक्तजनहरूले बेहडाबाबाको दर्शन गर्न पाउँदा आफूलाई अत्यन्तै सौभाग्यशाली महसुस भएको बताए। कतिपय भक्तजनले शुद्ध जल अर्पण गर्दै, पूजाआजा तथा मनोकांक्षा पूरा हुने विश्वासका साथ बेहडाबाबाको आराधना गरेका थिए।

शुक्रबार मात्र परराष्ट्र मन्त्री डा. आरजु राणा बेहडाबाबाको दर्शनका लागि मन्दिर पुग्नुभएको थियो। आगन्तुक पुस्तिकामा आफ्ना भावना व्यक्त गर्दै मन्त्री राणाले देशमा शान्ति, समृद्धि र अमनचयनको कामना गरेकी थिइन्। साथै, बेहडाबाबाले आफूलाई अध्यात्मिक प्रेरणा दिएको भन्दै मन्दिर व्यवस्थापन समितिलाई मायाको चिनो स्वरूप पूजाको सामग्री हस्तान्तरण गरेकी थिइन्।

मन्दिर समितिका अध्यक्ष खेमबहादुर चन्दका अनुसार मन्त्री राणाको भ्रमणले धार्मिक पर्यटन प्रवर्द्धनमा सकारात्मक संकेत दिएको छ। “उच्च तहका व्यक्तित्वहरूको आगमनले मन्दिरको महत्त्व झनै बढेको छ,” उनले भने, “यसले धार्मिक विकासका साथै स्थानीयस्तरमा आर्थिक गतिविधिलाई समेत चलायमान बनाएको छ।”

यसअघि नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बेहडाबाबा मन्दिरको दर्शन गरिसकेका छन्। यस मन्दिरलाई सुदूरपश्चिमकै धार्मिक आस्थाको केन्द्रबिन्दुका रूपमा लिइँदै आएको छ।

गंगादशहरा मेलाको अवसरमा बिहीवारदेखि सुरु भएको धार्मिक जमघट जेठ २५ गतेसम्म जारी रहनेछ। मेलामा कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, अछाम, बझाङ, डोटी लगायत सुदूरपश्चिमका सबै जिल्लाबाट हजारौँ श्रद्धालु आउने क्रम जारी छ। भारतको उत्तर प्रदेश र उत्तराखण्डबाट समेत ठूलो संख्यामा भक्तजन बेहडाबाबाको दर्शनका लागि आइपुगेका छन्।

परराष्ट्र मन्त्री राणा यसअघि सोमवारदेखि धनगढीमा आयोजना हुने लगानी तथा विकास सम्मेलनको तयारी बैठकमा सहभागी हुन सुदूरपश्चिम आइपुगेकी हुन्। सोही अवसरमा उनले धार्मिक, सामाजिक तथा प्रशासनिक भेटघाटहरूमा सक्रियता देखाएकी छन्।

बेहडाबाबा मन्दिर धार्मिक पर्यटनको अभूतपूर्व सम्भावना बोकेको स्थल हो। यहाँको धार्मिक मेलाले न केवल क्षेत्रीय एकता सुदृढ गर्छ, तर स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने कार्यमा योगदान पुर्‍याइरहेको छ।

 

ताजा समाचार