अत्तरिया, “खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक संरचना, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो अधिकार” भन्ने मूल नाराका साथ नेपाल खेलकुद महासंघद्वारा कैलाली जिल्लाका १३ वटै पालिकाहरूमा नेतृत्व चयनसहित प्रथम भेलाहरू सन्चालन भइरहेका छन्। यसैक्रममा गोदावरी नगरपालिकाको प्रथम भेला पनि उत्साहपूर्वक सम्पन्न गरिएको छ।
गोदावरी नगरपालिकाको उक्त भेलाको अध्यक्षता नेपाल खेलकुद महासंघका जिल्ला संयोजक महेन्द्र भण्डारीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटी सदस्य दिपेन्द्र गिरिको उपस्थिति रहेको थियो भने, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद महासंघका अध्यक्ष प्रकाश चन्द थिए। त्यस्तै, अतिथि व्यक्तिहरूमध्ये पूर्व केन्द्रीय कमिटी सदस्य बालकृष्ण प्रसाई, नेकपा एमालेका नगर कमिटी सचिव विक्रम बिष्टसहित स्थानीय अग्रज नेताहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
भेलाले सर्वसम्मत रूपमा २१ सदस्यीय नगर कमिटी गठन गरेको छ। नवगठित नगर कमिटीमा अध्यक्षमा देवबहादुर बिक, उपाध्यक्षमा विनोद थापा, महिला उपाध्यक्षमा उर्मिला चौधरी, सचिवमा सन्तोष बिसी, उपसचिवमा कुबेर सोव र विष्णु कुँवर, तथा कोषाध्यक्षमा बसन्त बिक चयन भएका छन्। अन्य सदस्यहरू पनि समावेश गरिँदै कमिटी निर्माण गरिएको हो।
कार्यक्रमका सहभागी अतिथिहरूले नवगठित कमिटीले गोदावरी नगरभित्रका खेलकुद गतिविधिको प्रवर्द्धन, संरचना निर्माण र स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए। साथै, कमिटीका सबै पदाधिकारी र सदस्यहरूलाई औपचारिक रूपमा आजै सपथ ग्रहण समेत गराइएको थियोे।
नेपाल खेलकुद महासंघले स्थानीय तहमा संरचना निर्माण, नेतृत्व विकास, र प्रतिस्पर्धात्मक खेलकुद प्रणालीको स्थापनाका लागि गरेको यो पहल सराहनीय मानिएको छ।