नेपाल निजामती कर्मचारी संगठनको कैलाली जिल्ला इन्चार्जमा गणेश पनेरु चयन

अत्तरिया, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमिति सदस्य गणेश पनेरूलाई कैलाली जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ। हाल गोदावरी नगरपालिकामा कार्यरत पनेरू लामो समयदेखि निजामती सेवा र कर्मचारी हकहितको क्षेत्रमा सक्रिय रूपमा योगदान दिँदै आएका एक कर्मचारी नेता हुन् ।

संगठनको हालै सम्पन्न बैठकले उनको अनुभव, निष्ठा र नेतृत्व क्षमतालाई मूल्याङ्कन गर्दै कैलाली जिल्ला इन्चार्जको जिम्मेवारी सुम्पिएको हो। संगठनका अनुसार पनेरुको नेतृत्वमा जिल्लास्तरीय संगठनात्मक सुदृढीकरण, सदस्य विस्तार, कर्मचारीको हक र हितका सवालमा प्रभावकारी अभियान सञ्चालन आएको बताएका छन् ।

जिम्मेवारी पाएपछि पनेरुले आफूलाई दिइएको भूमिकालाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सबै कर्मचारीहरूलाई समेटेर संगठनलाई थप सशक्त बनाउने लक्ष्य रहेको बताए। उनले कर्मचारीको पेशागत सुरक्षादेखि सेवा सुविधासम्मका मुद्दामा गम्भीर पहल गर्ने जानकारी समेत गरेका छन् ।

नेपाल निजामती कर्मचारी संगठनले स्थानीय तहदेखि संघीय तहसम्म कर्मचारीको हक अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ। पनेरुको नियुक्तिले कैलाली जिल्लामा संगठनको गतिविधि थप सशक्त र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

 

 

ताजा समाचार