अत्तरिया,कैलालीको अत्तरियास्थित पीएनए स्पोर्ट्स क्लबले छैठौँ पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिता आगामी यहीँ २४ गतेदेखि सुरु गर्ने भएको छ। प्रतियोगिता यही जेठ २५ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुनेछ।
पत्रकार सम्मेलनमार्फत आयोजकले प्लेइङ ११ मा ३२ वर्ष उमेर समूहका चार खेलाडी, ३५ वर्ष उमेर पार गरेका ७ खेलाडी तथा ४० वर्षभन्दा माथिका दुई खेलाडी अनिवार्य गरिने जानकारी दिएको छ। राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका दुई खेलाडी र दुई वर्ष समय अवधि नाघेका नेपाली खेलाडीले समेत सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिता आइसीसीका नियमअनुसार सञ्चालन हुने आयोजकले जनाएको छ।
टिम दर्ता शुल्क १० हजार रूपैयाँ तोकिएको छ। विजेता टिमले १ लाख रूपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रूपैयाँ पुरस्कार पाउनेछ। विभिन्न उत्कृष्ट विधामा खेलाडीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
आयोजित पत्रकार सम्मेलनमा क्लबका कोषाध्यक्ष दशरथ रानाको अध्यक्षता तथा गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगरप्रवक्ता गोपालदत्त भट्टको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विभिन्न क्लबका पदाधिकारी, खेलाडी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा एकिबद्धता व्यक्त गरेका थिए।