अत्तरिया, नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले गणतन्त्र दिवस–२०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिने ज्ञात–अज्ञात वीर योद्धाहरूप्रति नमन गर्दै उहाँले यो दिन सबै नेपालीका लागि ऐतिहासिक स्मरणीय रहेको बताउनुभएको छ।
शुभकामना सन्देशमार्फत भट्टले लोकतन्त्र, गणतन्त्र र समावेशी शासन प्रणाली स्थापनाका लागि गरिएको संघर्षको स्मरण गर्दै अब देश विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। उहाँले गणतन्त्र स्थापनापछि मुलुकले पाएको राजनीतिक अधिकारलाई अब जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसँग जोड्नुपर्ने कुरामा जोड दिनुभएको छ।
सुदूरपश्चिम प्रदेशका एक प्रभावशाली नेता मानिने भट्ट विगत लामो समयदेखि समग्र विकासका लागि सक्रिय रहँदै आउनुभएको छ। उहाँले सुदूरपश्चिमलाई मुलुकको मुख्य विकासको मेरुदण्ड बनाउने लक्ष्यसहित विविध योजना र अभियानहरू सञ्चालन गर्दै आउनुभएको छ। भट्टले जनताको जीवनस्तर उकास्न सुदूरपश्चिमका दुर्गम क्षेत्रसम्म पुगेर योजनाबद्ध रूपमा विकास निर्माणका कार्यक्रमहरू अघि बढाउँदै आफूलाई एउटा फरक नेताका रूपमा स्थापित गर्नुभएको छ।
गणतन्त्र दिवसको अवसरमा आज देशैभर विविध कार्यक्रमका साथ भव्य रूपमा यो राष्ट्रिय दिवस मनाइँदैछ। सरकारी, गैरसरकारी, राजनीतिक दल, सामाजिक संस्था, विद्यार्थी संगठन लगायत विभिन्न निकायहरूले कार्यक्रमको आयोजना गरी गणतन्त्र स्थापनामा योगदान दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गणतन्त्रको मूल्य, मान्यता र महत्वबारे जनचेतना फैलाउने प्रयास गरिएको छ।
गणतन्त्र दिवसले नेपाली जनतालाई राष्ट्रिय एकता, लोकतान्त्रिक अभ्यास र सहअस्तित्वका भावनामा अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै नेता भट्टले आगामी दिनहरूमा सबै नेपाली एकताबद्ध भई मुलुकको समृद्धिको यात्रामा लाग्न अपिल समेत गर्नुभएको छ।