अत्तरिया, नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा गोदावरी नगरपालिकाका निवर्तमान नगर-प्रमुख हरिसिंह साउदले आफू नेकपा एमालेको निष्ठावान र वफादार नेता रहेको स्पष्ट पार्दै, पार्टीभित्र गुटगत आरोप लगाउने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।
टाईगर न्युजसँग कुरा गदै साउदले पछिल्ला दिनहरूमा आफ्नो नाम गुट वा उपगुटसँग जोडेर गरिएको प्रचार-प्रसार पूर्णतः भ्रामक रहेको बताएका छन्। उनले भने, “म कुनै गुट वा गुटको नेतासँग जोडिएको छैन, म सिंगो नेकपा एमालेप्रति समर्पित छु। केही व्यक्तिहरूले गुटको संज्ञा दिएर गरिरहेका टिप्पणीहरू तथ्यहीन र दुर्भावनापूर्ण भएकाे बताए।”
साउदले पार्टीभित्र बढ्दै गएको अराजकता, भ्रामक गतिविधि, र विथोल्ने प्रयासहरूप्रति चिन्ता व्यक्त गर्दै ती प्रवृत्तिविरुद्ध अब सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए। उनले थपे, “हामी नेतृत्वकर्ता हौं, हामीले नै पार्टी बनाउने हो। पार्टी अरू जिल्ला वा प्रदेशबाट आएर पार्टी निर्माण हुदैनन् , यसै क्षेत्रका अग्रज नेताहरू र हामीजस्ता सबै नेता कार्यकर्ताहरूले निर्माण गर्नुपर्छ,उनले भने ।”
साउदले पार्टीको मूल नेतृत्वको विषयमा पनि प्रस्ट धारणा राखे। “हाम्रो राष्ट्रिय नेतृत्व केपी शर्मा ओली र महासचिव हुन्। तर सुदूरपश्चिम प्रदेशको सन्दर्भमा कुरा गर्दा, हाम्रो नेतृत्व लेखराज भट्ट नै हुन्,” साउदले जोड दिए। उनले लेखराज भट्टको लामो राजनीतिक अनुभव, संगठनप्रतिको निष्ठा र सुदूरपश्चिममा पार्टीलाई मजबुत बनाउन खेलेको भूमिकालाई स्मरण गराउँदै पार्टीलाई एकताको सूत्रमा बाँध्न लेखराज भट्टप्रति भरोसा गर्नुपर्ने धारणा समेत राखेका थिए । उनले क्षेत्रीय गुटबन्दीको आरोपहरूलाई खण्डन गर्दै कैलाली क्षेत्र नं. ४ मा कुनै गुट नदेखिएको जिकिर गरे।
“हाम्रो क्षेत्रभित्र गुट भन्ने कुरा छैन, पार्टीप्रति समर्पित अनुशासित कार्यकर्ताहरूको समूह मात्रै छ,” साउदले भने। अग्रज नेताहरूले गुटबन्दी नगरेको स्पष्ट पार्दै तल्लो तहका कार्यकर्ता नेताहरुलाई हामीहरूले नै सजग गराएर अगाडि बढाउने निर्देशन गर्नु जरुरी रहेको समेत उनले बताएका छन्।
पार्टीभित्र चलिरहेका गतिविधिहरूको मूल्यांकन गर्नुपर्ने समय आएको बताउँदै उनले पार्टीभित्र नेता फुटाउने खेल खेल्ने प्रवृत्तिहरूको पहिचान गरी प्रतिकार गर्न आवश्यक रहेको बताए। “हामीले नै पार्टी बनाउने हो। अहिले केही व्यक्तिहरू पार्टीभित्र विथोल्ने, नेताहरूलाई फुटाउने, गुटबन्दीको नारा लगाउने जस्ता खेलमा लागिरहेका छन्। ती प्रवृत्तिहरूको बेलैमा चिन्न जरुरी छ,” साउदले भने।
साउदको भनाइले विशेषतः सुदूरपश्चिमको राजनीतिक परिदृश्यमा लेखराज भट्टको नेतृत्वलाई थप प्रष्ट पार्दै पार्टी एकताका लागि ठोस सन्देश दिएको बताइएको छ।