गोदावरीले सुरु गर्‍यो अत्तरिया – धनगढी ६ लेन सडक स्मार्ट बत्ती जडान कार्य

अत्तरिया, कैलालीको गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडक खण्डमा स्मार्ट सडक बत्ती जडानको काम सुरु गरेको छ। गोदावरी नगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त साझेदारीमा गेटादेखि अत्तरियासम्मको सडक खण्डमा बत्ती जडानको काम बिहीबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो।

सडक बत्ती जडानको जिम्मा पाएको सुर्योदय ऊर्जा प्रालिले आजदेखि काम थालिसकेको जानकारी दिँदै नगरप्रमुख बिरेन्द्र भट्टले भने, “विगतमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अत्तरिया-धनगढी ६ लेन सडकमा उज्यालो नभएको भन्दै आलोचना हुँदै आएको थियो, तर अब दुई महिनाभित्र यो सडक खण्ड उज्यालो हुने पक्का छ।” उनले स्मार्ट सडक बत्तीको यो योजना सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको समेत बताए।

गोदावरी नगरपालिकाका इञ्जिनियर पूर्ण कुँवरका अनुसार कुल लागत २ करोड ३४ लाख १६ हजार ६ सय ३१ रुपैयाँ रहेको यस योजनामा नगरपालिकाले १ करोड ५२ लाख २० हजार ८ सय १० रुपैयाँ負न र बाँकी रकम नेपाल विद्युत प्राधिकरणले बेहोर्नेछ। उनले अहिले मिडियन भागमा पोल राख्न खाडल खन्ने कार्य तीव्र गतिमा भइरहेको जनाए।

यो योजनाअन्तर्गत गेटाको ट्राफिक चेकपोस्ट नजिक र मनहरा पुल नजिक गरी दुईवटा हाई मास्ट लाइट तथा अन्य १८३ वटा स्ट्रीट लाइट जडान गरिनेछ। २८ मिटरको अन्तरालमा मिडियन खण्डमा पोल राखेर स्ट्रीट लाइट जडान गरिनेछ।

त्यस्तै, तेघरी ब्यारेक नजिक कापडाको बोट आसपास, वडा नं. ११ को गौडी चोकमा समेत हाई मास्ट लाइट जडान गरिने बताइएको छ।

सुर्योदय ऊर्जा प्रालिका इन्जिनियर रबिन महतोले ठेक्काको अवधि ६ महिना बाँकी रहे पनि दुई महिनाभित्र काम सम्पन्न गर्ने गरी काम सुरु गरिएको जानकारी दिए। उनले दशैँ-तिहारअघिनै गोदावरी नगरपालिकाभित्र पर्ने यो प्रमुख सडक खण्ड उज्यालो बनाउने लक्ष्य राखिएको स्पष्ट गरे।

यसअघि गोदावरी नगरपालिकाले ६ लेन सडकको मिडियनमा हरियाली थप्ने काम सम्पन्न गरिसकेको छ। अहिलेको यो सडक बत्ती परियोजना कार्यान्वयन सँगै गोदावरी नगर क्षेत्र थप आकर्षक र सुरक्षित बन्ने अपेक्षा गरिएको छ।

 

ताजा समाचार