शिक्षक दरबन्दी मिलानमा स्वार्थको खेल भएको एमाले नेता ऐरीको आरोप

अत्तरिया, कञ्चनपुरको कृष्णपुर नगरपालिकाले शिक्षकहरूको दरबन्दी मिलान स्वार्थ केन्द्रित ढंगले गरिरहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा कृष्णपुर नगर इन्चार्ज गणेश सिंह ऐरीले आरोप लगाएका छन्। मंगलबार नेकपा एमाले कृष्णपुर नगर कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ऐरीले नगरपालिका नेतृत्वले नीति नियमविपरीत शिक्षकमाथि अन्यायपूर्ण सरुवा प्रक्रिया अघि बढाएको दाबी गरेका हुन्।

“दरबन्दी मिलान विद्यार्थी संख्या, भूगोल तथा वस्तुगत अवस्थाअनुसार हुनुपर्ने हो,” ऐरीले भने, “तर हालको प्रक्रियामा यस्ता आधारहरू ओझेलमा पारिएका छन्। जसको सेवा अवधि सकिएको छ, उसलाई यथास्थान राखिएको छ भने जसलाई सार्नु नपर्ने हो, त्यसलाई स्थानान्तरण गरिएको छ। यो स्पष्ट रूपमा स्वार्थको खेल भएको बताए छन् ।”

ऐरीका अनुसार नगरपालिका आफैले ५ वर्ष सेवा अवधि पुरा गरेका शिक्षकहरूको दरबन्दी मिलान गर्ने सूचनासमेत जारी गरेको थियो। तर, त्यस विपरीत ४ वर्ष सेवा गरेका शिक्षकहरूलाई पनि स्थानान्तरण गरिएको छ भने कतिपय २० वर्षसम्म एकै विद्यालयमा कार्यरत शिक्षकहरूलाई यथावत् राखिएको छ।

“हामी दरबन्दी मिलानको विपक्षमा होइनौं,” उनले भने, “तर नगरपालिकाले आफ्नै सार्वजनिक सूचनाको पालना नगरी स्वेच्छाचारिता देखाएको छ।” उनले हालै सामाजिक सञ्जालमा शिक्षक सरुवा सम्बन्धी टिप्पणी गरेका थिए। उक्त स्ट्याटसलाई लक्षित गर्दै नगरप्रमुखले शिक्षकहरूको नतिजा कमजोर भएको तर्क पेस गर्नु शिक्षक समुदायप्रति नै अपमानजनक रहेको उनको भनाइ थियो।

यस विषयमा प्रतिक्रिया दिंदै कृष्णपुर नगरपालिका नगर-प्रमुख हेमराज ओझाले कार्यपालिकाको निर्णयविरुद्ध उजुरी दिने व्यक्तिहरू नै स्वार्थपूर्तिमा संलग्न भएको आरोप लगाए। “शिक्षक मिलानबारे अनावश्यक भ्रम सिर्जना गरिएको छ,” नगरप्रमुख ओझाले भने, “शिक्षक महासंघसँग समन्वय गरेर हामीले दरबन्दी मिलान अघि बढाएका हौं। यो निर्णय प्रक्रिया पारदर्शी छ।”

ओझाले केही मिडियामा देखिएका उजुरीकर्ता व्यक्तिहरू र नेकपा एमाले संस्थागत विद्यालयको पक्षपोषण गर्दै सामुदायिक विद्यालयलाई कमजोर बनाउने प्रयासमा लागेको आरोप समेत लगाए। “नीति नियमअनुसार गरिएको निर्णयको पालना एमालेले पनि गर्नुपर्छ,” उनले स्पष्ट पारेका थिए ।

स्थानीय तहको शिक्षक सरुवासम्बन्धी निर्णय प्रक्रियामा देखिएको विवादले कृष्णपुर नगरपालिकाको शिक्षाक्षेत्रमा थप अन्योलता सिर्जना गरेको छ। पक्ष र विपक्षबीचको आरोप-प्रत्यारोपले विषय गम्भीर बन्दै गइरहेको छ।

 

ताजा समाचार