अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका वडा नं. ८ को नवौं वडा भेला वडा कार्यालय प्रांगणमा सम्पन्न भएको छ। वडाध्यक्ष गोविन्द चौधरीको अध्यक्षतामा आयोजित भेला नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा नगर उप–प्रमुख शारदा देवी रोकाया विशिष्ट अतिथिका रूपमा सहभागी भइन्।
वडाध्यक्ष चौधरीले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न योजना तथा कार्यक्रमहरूको समिक्षा गर्दै आगामी वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरू प्रस्तुत गरे। उनका अनुसार आगामी वर्षको बजेट सिलिङ अनुसार वडालाई ९४ लाख २४ हजार ८२३ रुपैयाँ विनियोजन गरिएको छ। वडाले वैशाख ३१ गतेसम्म १९ लाख १३ हजार २७८ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको पनि जानकारी गराएकाे थियोे ।
वडाले आगामी वर्षका लागि भौतिक पूर्वाधार विकासमा ६१ लाख २४ हजार, सामाजिक विकासमा १२ लाख, आर्थिक विकासमा १२ लाख, विपद् व्यवस्थापन तथा मागमा आधारित कार्यक्रममा २ लाख, र सुशासन तथा संस्थागत विकासमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै, वडाबाट नसकिने बजेट तथा ठूला योजनाहरू नगर, प्रदेश र संघ सरकारमार्फत कार्यान्वयनका लागि सिफारिस गरिने व्यवस्था गरिएको छ।
वडाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमहरूमा कृषि तथा सिचाइ, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण, खानेपानी तथा सरसफाइ, सडक तथा यातायात, शहरी विकास, सूचना तथा सञ्चार, जलविद्युत तथा वैकल्पिक ऊर्जा, वन तथा भू–संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, जल उत्पन्न प्रकोप नियन्त्रण, मानव संसाधन विकास, संस्थागत क्षमता विकास, स्रोत परिचालन तथा स्थानीय योजना र तथ्याङ्कलाई प्राथमिकता दिइएको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संस्थाहरू, बुद्धिजीवी, युवा तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भेलाले वडास्तरीय समावेशी विकास र पारदर्शी बजेट कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्दै सफलताको कामना गरेको छ।