अत्तरिया, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक आइतबार प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएको छ। विधेयक पारितसँगै वर्षौंदेखि उठ्दै आएको जनआन्दोलनको आवाजलाई उच्च सम्मान गरिएको सहभागीहरूले बताएका छन्।
आज अत्तरियामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी वक्ताहरूले यो विधेयक पारित हुनु जनताको भावना र सुदूरपश्चिमवासीको आशाको सम्मान भएको उल्लेख गरे।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यले विधेयक पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताए। तर उनले अस्पताल र अध्यापन सुरु नभएसम्म यो प्रक्रिया अधुरो नै रहने चेतावनी समेत दिए। “विधेयक मात्रै पारित गरेर पुग्दैन, अब आगामी आर्थिक वर्षमा सरकारले तीन सय शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्छ,” उनले भने।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले विधेयक पारित भएसँगै विश्वविद्यालय स्थापना मुर्तरुपमा अघि बढेको भन्दै सबैप्रति आभार व्यक्त गरे। उनले भने, “यो सुदूरपश्चिमको जित हो, तर अब सरकारलाई चिकित्साशास्त्र अध्यापनका लागि पर्याप्त पूर्वाधार र बजेट सुनिश्चित गर्नु जरुरी छ।”
कार्यक्रममा डा. दीपकप्रसाद भट्ट, डा. नरबहादुर मौनी, डा. सुरेन्द्र चन्द, हेमराज पुजारा, प्राध्यापक जगन्नाथ जोशी, गेटा उपशाखाका सचिव लोकेन्द्र धामी, गेटा मेडिकल कलेजका मेसु डा. प्रमोद यादव लगायतको सहभागिता रहेको थियो। उनीहरूले हाल सञ्चालनमा रहेको ५० शय्याको अस्पताल सुदूरपश्चिमको माग पुरा गर्न असमर्थ रहेको र एमबीबीएस अध्यापन सुरु नभएसम्म सन्तोष गर्न नसकिने धारणा राखे।
सम्मेलनमा बोल्ने वक्ताहरूले विधेयक पारित गराउन महत्वपूर्ण भूमिका खेलेका शिक्षामन्त्री रघुजी पन्त, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा नेता लेखराज भट्ट लगायत सबैलाई धन्यवाद व्यक्त गरे।
उनीहरूले अबको चुनौती विश्वविद्यालयको भौतिक संरचना, जनशक्ति, बजेट र पठनपाठन सुरु गर्नु भएको बताए। साथै, विश्वविद्यालयबाट सुदूरपश्चिमका युवाले सहज रूपमा चिकित्साशास्त्रको अध्ययन गर्न पाउने आशा व्यक्त गरे।