अत्तरिया, प्रतिनिधिसभाबाट दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा सम्बन्धी विधेयक पारित भएको खुसीयालीमा अत्तरिया चौकमा नेकपा (एमाले) नगर कमिटीद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
खुसी साटासाटस्वरूप दीप प्रज्वलनसँगै नेकपा (एमाले) क्षेत्र नं. ४ समन्वय कमिटीको सहयोगमा सर्वसाधारण माझ मिठाई वितरण समेत गरिएको थियो। सुदूरपश्चिमको दीर्घकालीन माग स्वरूप रहेको गेटास्थित राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको कानुनी रूपमै स्थापना हुन लागेको यस ऐतिहासिक निर्णयप्रति नेकपा (एमाले) तथा सुदूरपश्चिमवासीको तर्फबाट नेपाल सरकार र यस कार्यमा संलग्न सबै नेताहरूप्रति आभार प्रकट गरिएको थियो।
उक्त कार्यक्रम नेकपा (एमाले) गोदावरी नगर इन्चार्ज खम्बु बुढाको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट, जिल्ला कमिटीका सदस्यहरू, नगर कमिटीका पदाधिकारीहरू तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीहरूले गेटा विश्वविद्यालयको स्थापना सुदूरपश्चिम प्रदेशको शैक्षिक, स्वास्थ्य तथा समग्र विकासको आधार स्तम्भ बन्ने विश्वास व्यक्त गरेका थिए।
दीप प्रज्वलन र मिठाई वितरणमार्फत गरिएको उक्त उत्सवले स्थानियबासीमा पनि उल्लास र आशाको वातावरण सिर्जना गरेको थियो।