अत्तरिया,नेकपा एमाले गोदावरी नगर कमिटीले वडा भेलामा माइक काटिएको घटना प्रति आपत्ति जनाएको छ ।
शनिवार एमाले नगर कमिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार (वैशाख २ गते) वडा नम्बर ४ को वडा भेलामा एमाले वडा कमिटी अध्यक्ष पुष्प राज सुवेदीको माइक काटिएको घटनाप्रति आपत्ति जनाएको छ ।
पार्टी नगर कमिटी अध्यक्ष सन्तोष सिंहको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ ‘गोदावरी नगरपालिका वडा नं ४ द्वारा आयोजना गरिएको वडा भेला कार्यक्रममा हाम्रो पार्टी नेकपा एमाले गोदावरी वडा नम्बर ४ कमिटी अध्यक्ष पुष्प राज सुवेदीले जनताको पक्षमा आवाज उठाउने उद्देश्यले सम्बोधन गर्न खोज्दा माइकको लाइन काटेर विपक्षी दलको अभिव्यक्तिको स्वतन्त्रतालाई दबाउने अलोकतान्त्रिक, असहिष्णु र निन्दनीय कार्य गरिएकोप्रति नेकपा एमाले गोदावरी गम्भीर आपत्ति जनाउँदै कडा विरोध प्रकट गर्दछ ।’
विज्ञप्तिमा स्थानीय समस्या, योजना र विकासका विषयमा छलफल हुने वडा भेलामा विपक्षी दलका नेताको आवाज थुने कार्यले लोकतान्त्रिक मूल्य र अभ्यासमाथि ठुलो आघात पुगेको उल्लेख छ ।
माइक काटिएको घटनालाई लोकतान्त्रिक अधिकारमाथि गरिएको प्रहारका रूपमा लिएको एमालेले जनाएको छ ।
