एपेक्स एकेडेमीका विद्यार्थीद्वारा अपांगता भएका बालबालिकालाई टिफिन तथा शैक्षिक सामग्री वितरण

अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका–४ बसन्तपुरमा अवस्थित एपेक्स एकेडेमीका विद्यार्थीहरूले सुप समावेशी आधारभूत विद्यालयमा अध्ययनरत अपांगता भएका बालबालिकालाई टिफिन तथा शैक्षिक सामग्री वितरण गरेका छन्।

विद्यालयको वार्षिक कार्यपात्रोअनुसार शुक्रबार सञ्चालन गरिएको ‘क्यालोरी कोल्याबोरेसन’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले आफ्नै घरबाट ल्याएको टिफिन सुप समावेशी विद्यालयका बालबालिकालाई वितरण गरेका हुन्।

कार्यक्रमबारे जानकारी दिँदै एपेक्स एकेडेमीका प्रिन्सिपल समिर महराले विद्यार्थीहरूलाई सामाजिकिकरणमा उत्प्रेरित गर्ने र उनीहरूमा नैतिक मूल्यको विकास गर्न यस्ता कार्यक्रमको आयोजना गरिने बताए। “अशक्त बालबालिका तथा व्यक्तिहरूप्रति सम्मान र सद्भावना जगाउन विद्यार्थीलाई सहभागी गराइएको हो,” उनले भने।

कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूले घरबाट टिफिन ल्याएर वितरण गरेका थिए भने कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरूले एक दिनको टिफिन बराबरको शैक्षिक सामग्री (कापी, कलम आदि) वितरण गरेका थिए।

समावेशी शिक्षामा सहानुभूति र सहभागिताको अभ्यास गराउने उद्देश्यले गरिएको यस कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोचकाे विकास हुने विश्वास विद्यालयले लिएको छ।

 

ताजा समाचार