माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्टको पुनर्वहाली

धनगढी, नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश  संसदीय दलको नेताको जिम्मेवारी फेरि खगराज भट्टले पाएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो । प्रदेश सभा सदस्य शिवसिंह ओलीले बैठकले सर्वसम्मत रूपले दल नेता परिवर्तन गरेको जानकारी दिए ।

१२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदहरुको बैठकले भट्टलाई हटाउँदै दल नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो । त्यसपछि माओवादी प्रदेश संसदीय दल विभाजित बनेको थियो ।

पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका भट्टलाई दलको नेतामा निरन्तरता दिन पार्टी अध्यक्ष प्रचण्डले पटक–पटक लिखित र मौखिक निर्देशन दिदै आएका थिए तर प्रदेश संसदीय दलले अटेरी गर्दै आएको थियो ।

तर अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान शुभारम्भ गर्न सुदूरपश्चिम आएका बेला आफ्नै उपस्थितिमा दलको बैठक राखेर भट्टलाई दलको नेतामा पुनर्वहाली गराएका हुन् । बैठकले दलको उपनेता, प्रमुख सचेतक र सचेतकका सम्बन्धमा भने कुनै निर्णय गरेको छैन ।

 

ताजा समाचार