गोदावरी-१ ले सार्वजनिक गर्‍यो १ करोड २० लाखको बजेट, पूर्वाधारमा विशेष प्राथमिकता

अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका अन्तर्गत रहेका वडाहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ बजेट तर्जुमा गर्ने कार्य तीव्र रूपमा अघि बढाइरहेका छन्। यसैक्रममा वडा नम्बर १ ले पहिलो पटक आफ्नो वार्षिक बजेट सार्वजनिक गर्दै १ करोड २० लाख रुपैयाँ बराबरको योजना प्रस्तुत गरेको छ। नयाँ वर्षसँगै नयाँ योजनाहरू तथा जनताको प्राथमिकता समेट्दै बजेटको खाका तयार गरेर  वडा भेला वडा भेला प्रस्तुत गरेको छ।

वडाले टोलटोलमा पुगेर स्थानीय बासिन्दाका माग, आवश्यकता र सुझावहरू संकलन गरी योजनाको तर्जुमा गरेको छ। उक्त बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, सीपमूलक तालिम र भौतिक पूर्वाधारका क्षेत्रमा विशेष जोड दिइएको छ। वडाको समग्र विकासलाई लक्षित गर्दै जनतालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने कार्यक्रमहरू प्राथमिकता सूचीमा राखिएका छन्।

वडा नम्बर १ का अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको नेतृत्वमा वडाले आगामी बर्षकाे बजेट सार्वजनिक गरेको छ। वडाका अनुसार योजनाहरू प्रभावकारी कार्यान्वयन गरिनुका साथै पारदर्शिता र जनउत्तरदायित्व कायम राखिने समेत प्रस्तुत गरेको थियोे ।

यसैबीच, वडाले आयोजना गरेको नवौं वडा भेलाकाे अध्यक्ष गोपाल दत्त भट्टको अध्यक्षतामा प्रमुख अतिथिका रूपमा नगर प्रमुख वीरेन्द्र भट्ट उपस्थित थिए। विशिष्ट अतिथि शारदा देवी रोकाया, विभिन्न वडाका अध्यक्षहरू, तथा प्रमुख राजनीतिक दलका स्थानीय नेताहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता रहनु सकारात्मक संकेतका रूपमा हेरिएको थियो ।

वडाले स्थानीय विकासलाई सुदृढ बनाउन बजेट पारदर्शी, सहभागी र समावेशी ढंगले तर्जुमा गरिएको बताउँदै, आगामी दिनमा योजनाको प्रभावकारी कार्यान्वयनमार्फत वडालाई समुन्नत र समृद्धि गर्ने लक्ष्य राखेको छ ।

 

ताजा समाचार