अत्तरिया बजारमा ढल निकास सुधार अभियान सुरु

अत्तरिया,कैलालीको गोदावरी नगरपालिका अन्तर्गत अत्तरिया बजार क्षेत्रमा ढल निकास सुधार अभियान सुरु गरिएको छ। वर्षा याम नजिकिँदै गएपछि नाली सरसफाई कार्यलाई प्राथमिकता दिइएको हो।

नगर प्रमुख बिरेन्द्र भट्ट, सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईंको नेतृत्वमा प्राविधिक टोलीले बजार क्षेत्रमा रहेका अव्यवस्थित तथा अवरुद्ध नालीहरूको स्थलगत अनुगमन तथा प्रारम्भिक अध्ययन गरेको छ।

इन्जिनियर चौलागाईंका अनुसार आगामी साउनको पहिलो हप्ताभित्र ढल निकासका लागि ठेक्का प्रक्रिया सुरु गरिनेछ। “डुबानको समस्या अन्त्य गर्ने लक्ष्यसहित ढक्कन व्यवस्थापन कार्य अघि बढाइनेछ,” उनले बताए।

प्रारम्भिक अध्ययन प्रतिवेदनको आधारमा महेन्द्रनगर सडकखण्डका प्रमुख नालीहरूमा ढक्कन जडान गरिने र सडक बोर्डसँगको सहकार्यमा आवश्यक सडक निर्माण तथा सुधार कार्य पनि अघि बढाइने योजना रहेको छ।

 

ताजा समाचार