अत्तरिया, कञ्चनपुरकाे कृष्णपुर नगरपालिका–२ वंकमा स्थानीय एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएपछि भीमदत्त राजमार्ग अवरुद्ध पारिएको छ। बुधवार दिउँसो पौने ३ बजेदेखि स्थानीय बासिन्दा र मृतकका आफन्तहरूले वंक चोकमा टायर बाल्दै सडक अवरुद्ध पारेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मंगलवार सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले कृष्णपुर–२ वंकका ५० वर्षीय महेन्द्र बिष्टलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका बिष्टको उपचारका क्रममा ज्यान गएको हो।
दुर्घटनापछि मृतकका परिवारजन र स्थानीयबासीले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्।
ठक्कर दिने संलग्न बोलेरोका चालक २१ वर्षीय रवि रोकायालाई प्रहरीले जिपसहित नियन्त्रणमा लिएको छ। रोकाया बझाङको छबिस पाथिभेरा गाउँपालिका–२ का बासिन्दा हुन्।
सडक अवरुद्धको नेतृत्व कृष्णपुरको महाकाल युवा क्लबका अध्यक्ष हिम्मत भण्डारीले गरेका थिए। क्लबका सदस्यहरू र स्थानीयको सहभागितामा स्वतःस्फूर्तरूपमा सडक बन्द गरिएको स्थानीय युवा दिपेश ऐरीले जानकारी दिए।
प्रहरी र स्थानीय प्रशासन घटनास्थलमा पुगेर वार्तामार्फत समस्या समाधानको प्रयास गरिरहेका छन्। पीडित पक्षले उचित क्षतिपूर्ति र न्याय सुनिश्चित नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।