अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका वडा नं.११ का वडाध्यक्ष प्रेमसिंह बडैला पछिल्लो समय उत्कृष्ट कार्यशैली, जनउत्तरदायिता र समावेशी सोचका कारण चर्चामा रहेका छन्। बाँकी कार्यकाललाई विकासको मुख्य चरणका रूपमा लिँदै उहाँले प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउँदै वडाबासीको विश्वास जितेका छन्।
वडा नं. ११ गोदावरी नगरपालिकाको एक व्यस्त वडा मानिन्छ, जहाँ दैनिकजसो सेवाग्राहीहरूको भिडभाड रहने गर्छ। यस्तै चुनौतीपूर्ण वडाको नेतृत्व सम्हाल्दै आएका वडाध्यक्ष बडैला बिहानदेखि साँझसम्म नागरिक सेवामा सक्रिय देखिन्छन्। उनका कामले वडाबासीहरू स्वतन्त्र उम्मेदवारको भूमिकाप्रति नयाँ युगको सुरुवात भएको अनुभूति गराएको बताउँछन्।
समावेशी विकास र सामाजिक उत्तरदायिताको सन्देश फैलाउने वडाध्यक्ष बडैला जनताको साना-साना माग, समस्या र सरोकारमा समेत चासो दिँदै व्यावहारिक समाधानमा लागिपरेका छन्। कुनै राजनीतिक दलको झण्डा नउठाई स्वतन्त्र हैसियतमा निर्वाचित भएका अध्यक्ष बडैला परम्परागत राजनीतिक शैलीभन्दा माथि उठेर निष्पक्ष र विकासमुखी सोचका साथ अघि बढिरहेका छन्।
वडा नम्बर ११ भौगोलिक र सामाजिक दृष्टिकोणले मिश्रित स्वरूप बोकेको वडा हो। दुर्गम र सुगम क्षेत्रको संगमजस्तै रहेको यो वडामा पूर्वाधार विकासका साथै सामाजिक संरचनालाई सुदृढ पार्ने खालका कामहरूमा उहाँको अग्रसरता प्रशंसायोग्य देखिएको छ।
स्थानीय बासिन्दा नरेश विकका अनुसार, “हामीले जुन स्वतन्त्र उम्मेदवारलाई जिताएका थियौँ, उहाँले साँच्चिकै स्वतन्त्र र निष्पक्ष भावनाले वडाको समग्र विकासमा योगदान पुर्याइरहनुभएको छ। उहाँको कार्यदक्षता र व्यवहारिक सोचले हामी गर्व गर्न लायक वडा निर्माण गर्न सफल भएका छौं, उनले भने । ”
वडाध्यक्ष बडैला आगामी आर्थिक वर्षका योजनाको तर्जुमा प्रक्रियामा समेत जनप्रतिनिधि मात्र नभई जनसरोकारका व्यक्ति भएर सक्रिय देखिन्छन्। सबैलाई समेट्ने योजना निर्माण र कार्यान्वयनका लागि व्यापक छलफलमा जुटेका छन्। उहाँले जेष्ठ नागरिकको सम्मानमा भवन निर्माणजस्ता सामाजिक योजनाहरू अघि सारेका छन्, जसले समाजमा सम्मानको संस्कार बढाउने काम गरेको छ।
दलित बस्तीको बाक्लो उपस्थिति रहेको ठाउँमा आवश्यक योजनाहरूको पहिचान गरेर वडाको समावेशी विकासमा योगदान पु¥याउनु, सबै नागरिकलाई समान अवसर दिनुजस्ता कार्यले वडाध्यक्ष बडैला लोकप्रिय बन्न पुगेका छन्। सामाजिक समरसता, समानता र सद्भाव कायम राख्न उहाँको भूमिका अत्यन्त सशक्त देखिन्छ।
सरल स्वभाव, सबैसँग आत्मीय सम्बन्ध राख्ने शैली र उच्च मनोबलका साथ निरन्तर जनसेवामा खटिनु वडाध्यक्ष बडैलाको विशेषता हो। उहाँको नेतृत्वमा वडा नम्बर ११ केवल प्रशासनिक इकाइ नभई सामाजिक समृद्धिको सशक्त केन्द्र बन्दै गएको पाईन्छ ।