अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका-९, मुर्कट्टीमा रहेको मनकीया सामुदायिक वन उपभोक्ता समूहमा गम्भीर आर्थिक अनियमितता भएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। उक्त वनको कार्यसमिति विशेषतः अध्यक्षको नेतृत्वमा वित्तीय पारदर्शिताको अभाव रहेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्।
स्थानीय स्रोतका अनुसार, सामुदायिक वनको वार्षिक साधारण सभामा समेत आय–व्यय विवरण सार्वजनिक नगरिने, आम उपभोक्ताले विवरण बुझ्न खोज्दा व्यवस्थापन समितिले विभिन्न बहानाबाजी र टालटुल गर्ने गरेको उल्लेख गरिएको छ। एक स्थानीय उपभोक्ताले जानकारी दिँदै भने, “वर्षौंदेखि समितिले जनतालाई आलटाल राख्दै आइरहेको छ। हामीले स्पष्ट रूपमा आर्थिक विवरण माग्दा समितिले छलकपट मात्र गने गरेको उहाँले बताउनुभयो ।”
यसै सन्दर्भमा, स्थानीय उपभोक्ता प्रकाश शाहको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। सो समितिले अनियमितता सम्बन्धी प्रतिवेदन तयार गरी कार्यसमिति र सम्बन्धित निकायहरूलाई बुझाइसकेको पनि उहाँले जानकारी दिनुभयो। तर, हालसम्म त्यसको कुनै सुनुवाइ नभएको भन्दै आफूहरूले मिडियाको सहारा लिनुपरेको उहाँले स्पष्ट पार्नुभयो।
छानबिन समितिको प्रतिवेदनअनुसार सामुदायिक वनको लेखाप्रणालीमा उल्लेख्य त्रुटि देखिएको छ। केही वर्षअघिसम्म वन सञ्चालनमा समस्या नभएको जनाउँदै स्थानीयवासीहरूले हाल भने वनको खातामा कुनै रकम नरहेको बताएका छन्। यससँगै वन संरक्षणको मूल मर्म र दायित्वबाट हालको कार्यसमिति विमुख भएको भन्दै गम्भीर आरोप समेत लगाइएको छ।
वडा अध्यक्ष रामलाल रानाले यस विषयमा प्रतिक्रिया दिँदै भने, “आजसम्म यस सम्बन्धमा कुनै उजुरी आएको छैन। यदि त्यस्तो समस्या छ भने अब म आफैं बुझ्नेछु र आवश्यक कदम चाल्नेछु। समितिबाट आएका प्रतिवेदन, सुझाव, र आवश्यक सरसल्लाह लिने प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो।”
स्थानीय नागरिकहरू र उपभोक्ताहरूले अब वन संरक्षण र पारदर्शिता सुनिश्चित गर्न प्रशासन र सरोकारवाला निकायहरूको तत्काल ध्यानाकर्षण गराएका छन्। उनीहरू भन्छन्, “वन हाम्रो साझा सम्पत्ति हो, यसको संरक्षण र सही व्यवस्थापन सबैको जिम्मेवारी हुनुपर्ने दायित्व लिनुपर्छ भनिरहेका छन् ।” उपभोक्ता समितिमा अहिले भने हिनाफिनाको चर्चा व्यापक भइरहेको छ। के यसको विषयमा किन यस्तो खालको समस्या सिर्जना भयो यो विषयमा निरन्तर फ्लप गर्ने कुरामा पनि लागिरहेको छौँ। हाल उक्त सामुदायिक वनको अध्यक्ष हाेलुवा डंगौरा रहेका छन्।