अत्तरिया, अन्तर्राष्ट्रिय नर्सिङ दिवस (मे १२) को अवसरमा कैलालीको अत्तरियामा अवस्थित महिला तथा बालबालिका सेभ हाउसमा अति आवश्यक सामग्री सहयोग गरिएको छ। नेपाल नर्सिङ संघ, कैलालीको आयोजनामा गरिएको उक्त सहयोग कार्यक्रमले नर्सिङ पेशाले अस्पताल बाहिर पनि समुदायमा प्रत्यक्ष प्रभाव पार्ने तथ्यलाई उजागर गरेको छ।
संघले स्वास्थ्य सामग्री, सरसफाइका सामाग्री, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरू प्रदान गरेको हो। कार्यक्रमका प्रमुख उद्देश्यमध्ये एक भनेको लुकेर रहेका, पहुँचबिहीन बालबालिका र महिलाहरूको जीवनमा राहत पुर्याउनु रहेको संघकी अध्यक्ष यसोदा ढकालले बताउनुभयो।
उहाँका अनुसार, “नर्सहरू हरेक दिन दुःखी, बालबालिका तथा वृद्धबृद्धाहरूको सेवा गर्दै आइरहेका छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर विशेषगरी कमजोर वर्गका व्यक्तिहरूलाई लक्षित गर्दै सहयोगको हात अगाडि बढाइएको समेत बताएकी थिइन्।”
संघकी महासचिव कमला न्यौरेले विगतमा पनि यस दिनलाई नर्सिङ पेशाको सेवाभाव प्रदर्शन गर्ने अवसरको रूपमा उपयोग गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले आफ्नो दक्षता र स्रोतको उपयोग गरी असहाय र पीडित समुदायलाई निरन्तर सेवा दिँदै आएका छौं। यसपटक महिला तथा बालबालिकाको सहजता सुनिश्चित गर्न सानो सहयोग गरेका हौं। आगामी दिनमा थप सामग्री सहयोग गरिने प्रतिबद्धता समेत गरेकी थिइन्।”
कार्यक्रममा सहभागिता जनाउँदै पदमा अस्पतालका सञ्चालक तथा वरिष्ठ चिकित्सक डा. नर बहादुर मौनीले नर्सहरूको योगदानलाई स्मरण गर्दै भन्नुभयो, “नर्सहरूले युद्धको समयमा समेत घाइतेहरूको सेवा गरेका थिए। नर्सहरूले बिरामीको उपचारमा डाक्टरसरहको भूमिका निर्वाह गर्दै आएका छन्।”
उहाँले नेपाल नर्सिङ संघ, कैलालीले सेभ हाउसमा देखाएको सेवाभावको उच्च प्रशंसा गर्दै धन्यवाद पनि दिनुभयो। यस कार्यक्रमले नर्सिङ पेशाले केवल अस्पतालभित्र सीमित नभई, समुदायमा समेत सकारात्मक परिवर्तन ल्याउन सक्ने सन्देश दिएको उहाँको बताउनुभएको थियो।