डडेल्धुराको भित्रिमधेस क्षेत्रमा अटो रिक्सा व्यवस्थापनमा प्रहरीको सक्रियता

आँशु भण्डारी, डडेल्धुरा- डडेल्धुराको भित्रिमधेस क्षेत्रमा अटो रिक्सा व्यवस्थापनमा प्रहरीले सक्रियता देखाएको छ। इलाका प्रहरी कार्यालय जोगबुडाले अटो रिक्सा दुर्घटनामा वृद्धि भएसँगै दुर्घटना न्यूनीकरणका लागि स्थानीय अटो रिक्सा व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो।

शनिबार आयोजित उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरीक्षक सुरज रोकायाले अटो व्यवसायीहरूलाई सुरक्षित सवारी सञ्चालन सम्बन्धी विविध जानकारी दिएका थिए। कार्यक्रममा करिब ५० जना अटो चालकको सहभागिता रहेको थियो।

गत बिहीबार मात्रै आलिताल गाउँपालिका–८ स्थित बुडर–जोगबुडा सडक खण्डमा अटो रिक्सा पल्टिँदा चार वर्षीय बालक विवेक विकको ज्यान गएको थियो। उक्त घटनाले स्थानीय बासिन्दाहरूबीच गहिरो पीडा र चिन्ता उत्पन्न गराएको थियो। त्यसयता प्रहरीले अटो रिक्सा व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।

कार्यक्रममा सहभागी अटो रिक्सा चालक चन्द्र खातीले समय–समयमा यस्ता कार्यक्रम आयोजना हुन सकेमा चालकहरू सचेत हुने र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “प्रहरीको यो प्रयास सकारात्मक छ। हामीलाई कानुनी जानकारीमात्र होइन, यात्रु सुरक्षामा पनि ध्यान दिनुपर्ने चेतना दिलाइएको बताए ।”

हाल अटो रिक्सा चालकहरूले मनोमानी रूपमा भाडा असुल्ने गरेको गुनासो बढिरहेका बेला प्रहरीले भाडामा एकरूपता ल्याउन आग्रह गरेको छ। साथै, सवारी चालक अनुमति पत्र नभई अटो चलाउनेहरूलाई पहिलो पटक दुई हजार रुपैयाँ जरिवाना गरिने र पुनः त्यस्तो अवस्थामा अटोसहित कारवाही गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सिफारिस गरिने निर्णयसमेत गरिएको प्रहरी निरीक्षक रोकायाले जानकारी दिए।

यद्यपि अटो रिक्सा व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिइएको भए पनि सो क्षेत्रमा स्थानीय तहको उपस्थिति कमजोर देखिएको स्थानीय अगुवाहरूको भनाइ छ। उनीहरूले स्थानीय सरकारलाई अटो व्यवस्थापनमा चासो दिन आग्रह गरेका छन्। “स्थानीय सरकारको लापरबाहीका कारण ट्राफिक प्रहरीको निगरानीसमेत कम भइरहेको छ,” एक स्थानीय अगुवाले भने।

हाल भित्रिमधेस क्षेत्रमा पेट्रोलियम र विद्युतीय गरी करिब १३० भन्दा बढी अटो रिक्सा सञ्चालनमा रहेको जनाइएको छ। यातायात व्यवस्था कार्यालयले अब अटो रिक्सा दर्ता, नवीकरण लगायतका सम्पूर्ण प्रक्रिया स्थानीय तहमार्फत हुने व्यवस्था गरेको छ। समग्रमा अटो रिक्सा व्यवस्थापनमा प्रहरीले चालेको कदम सराहनीय रहेको बताउँदै स्थानीयले यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिन आग्रह गरेका छन्।

 

ताजा समाचार