स्थानीयको स्वास्थ्य सेवाको पहिलो रोजाइ बन्दै टाउन हस्पिटल

कैलाली, पुनर्वास नगरपालिका वडा नम्बर ६, टाउन बजारमा अवस्थित टाउन हस्पिटल प्रालि छोटो समयमा नै स्थानीय बासिन्दाको मन जित्न सफल भएको छ। स्वास्थ्य क्षेत्रमा लामो अनुभव संगालेका पवन पन्तको लगानीमा करिब ३ वर्षअघि सञ्चालनमा आएको यो हस्पिटल अहिले पुनर्वास नगरपालिका मात्र नभई आसपासका क्षेत्रका सर्वसाधारणको रोजाइमा पर्न थालेको छ।

स्थापनाको छोटो अवधिमा नै करिब १५ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिइसकेका छन्। विभिन्न विशेषज्ञ चिकित्सकहरुको टोलीसहित सेवा दिइरहेको हस्पिटल १० सैयाको क्षमतासहित सञ्चालनमा रहेको छ।

हस्पिटलले आकस्मिक सेवा, स्त्री तथा प्रसूति, बालरोग, मिर्गौला, मधुमेह, मुटु, सामान्य चिकित्सा, ल्याब सेवा, एक्स–रे, भिडियो एक्स–रे, अल्ट्रासाउन्ड, डेंगु परीक्षण लगायतका सेवा उपलब्ध गराउँदै आएको छ। स्थानीयस्तरमै विशेषज्ञ सेवा पाउँदा सर्वसाधारण निकै सन्तुष्ट देखिएका छन्।

टाउन हस्पिटल प्रालिका प्रबन्ध निर्देशक पवन पन्तले हस्पिटलको सुरुवाती अवधिमा थोरै सेवा र सीमित जनशक्ति रहेको स्मरण गर्दै अहिले सेवा क्षेत्र र जनशक्ति दुबै विस्तार भइसकेको बताए। “स्थानीय स्तरमै गुणस्तरीय, सहज र जनमैत्री सेवा दिने लक्ष्यसहित हस्पिटल सञ्चालन गरेका थियौं। सेवाग्राहीको विश्वास र साथले छोटो समयमा यो अवस्थामा पुर्‍याएको छ,” उनले भने।

अहिले टाउन बजार क्षेत्र मात्र नभई पुनर्वास नगरपालिका र छिमेकी पालिका, कैलाली, कञ्चनपुर लगायतका विभिन्न क्षेत्रका नागरिक समेत टाउन हस्पिटलमा उपचारका लागि आउने गरेका छन्।

सस्तो, गुणस्तरीय सेवा र अनुभवी चिकित्सकको उपस्थितिका कारण सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दो छ। हस्पिटल प्रशासनका अनुसार आगामी दिनमा सेवा क्षेत्र थप गर्दै १५ शैया पुर्‍याउने र नयाँ विशेषज्ञ सेवा थप्ने तयारी समेत गरिएको छ।

स्थानीय व्यवसायी सुरज चौधरी भन्छन्, “पहिले सामान्य स्वास्थ्य समस्या हुँदा पनि टाढा जानुपर्थ्यो। अहिले टाउन हस्पिटल खुलेपछि गाउँमै गुणस्तरीय उपचार पाउने व्यवस्था भएको छ। शुल्क पनि जनमैत्री छ।”

संचालनको छोटो समयमा नै स्थानीय बासिन्दाको विश्वास जितेर स्वास्थ्य सेवा क्षेत्रमा राम्रो पहिचान बनाउन सफल टाउन हस्पिटल प्रालिले आगामी दिनमा थप सेवा विस्तार गर्दै आधुनिक प्रविधि भित्र्याउने तयारीसमेत गरिरहेको जनाएको छ।

 

ताजा समाचार